पोखरा महानगरपालिकाद्धारा कृषि उपजको रु २६ लाख ७९ हजार समर्थन मूल्य प्रदान

हिमाली आवाज । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ ।

महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजहरूको समर्थन मूल्य तोकेको छ । पोखरामा बुधबार आयाजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले कृषकहरुलाई रकम प्रदान गर्नुभएको हो ।

महानगरले ६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, नौ हजार ५२० केजी सिमी र दुई सय ९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको रु २६ लाख ७९ हजार ७६१ समर्थन मूल्य प्रदान गरेको हो ।

पोखरा महानगरपालिका भित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका कृषकहरूलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो ।

उहाँका अनुसार बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसानहरु विस्थापित हुँदै गएकाले त्यसलाई रोक्न महानगरले ३५ कृषि उपजको समर्थन मूल्य तोकेको उल्लेख गर्नुभयो ।

यदि किसानले आफ्ना उत्पादन समर्थन मूल्यभन्दा कममा बेच्नुपरेमा महानगरले बाँकी रकम किसानलाई दिन्छ । न्यूनतम समर्थन मूल्य तोकिएका बालीको दाबी गर्नका लागि कृषकले आफूले लगाएको बालीको नाम, जात र क्षेत्रफल अग्रिम रुपमा दर्ता गर्नुपर्छ ।

न्यूनतम समर्थन मूल्य प्राप्त गर्ने कृषकहरुमा चिसापानी च्याउ फार्म पोखरा २२ का सन्दीप बहादुर क्षेत्रीले समर्थन मूल्य बापत ११ हजार १६६ केजी च्याउको रु.चार लाख ८५ हजार ९४० प्राप्त गर्नुभयो ।

भुर्जङ्खोला च्याउ फार्म पोखरा १९ का सुष्मा सुनार गहतराजले सात हजार ५६० केजी च्याउको रु तीन लाख ६२ हजार ९२०, शोभा अर्गानीक मल्टी एग्रो फार्म पोखरा २६ का मुकुन्द खड्काले नौ हजार ७१४ केजी च्याउको रु तीन लाख १७ हजार ४४, ग्रिन लाई म मसरुम फार्म पोखरा २४ का चोविन्द्र बहादुर कुँवरले रु.तीन लाख एक हजार ७४० पाउनुभएको छ ।

यसैगरी सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा ३३ का प्रताप सुवेदीले नौ हजार ११३ केजी च्याउको रु तीन लाख ८२२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा ११ का धुव्र बहादुर थापाले पाँच हजार २२५ केजी च्याउको रु एक लाख ७४ हजार २२६, भोर्लेटार च्याउ उद्योग पोखरा ३२ का मनोरञ्जन पौडेलले छ हजार २०३ केजी च्याउको रु एक लाख ६८ हजार ७०६ पाउनुभएको छ ।

अधिकारी अर्गानिक च्याउ फार्म पोखरा १४ का मीना अधिकारीले दुई हजार ७२४ केजी च्याउको रु ८३ हजार ४४४ र वि.मु अधिकारी च्याउ फार्म पोखरा १४ का हरिमाया अधिकारीले एक हजार २५६ केजी च्याउको रु ४९ हजार ६०० महानगरबाट समर्थन मूल्य प्राप्त गर्नुभएको हो ।

यसैगरी एस के कँडेल कृषि फार्म पोखरा २८ का सन्तोष कँडेलले तीन हजार ९५० केजी सिमीको रु ६९ हजार ९५०, पोखरा कुखुरा तथा कृषि फार्मका रिलेस बस्यालले तीन हजार ६७० केजी सिमीको रु ६२ हजार ८९०, राति पोखरी कृषि फार्म पोखरा २२ का अग्निमाया बरालले ८२५ केजी सिमी को र एक हजार ७५४ केजी गोलभेँडाको रु ३५ हजार ४२१, निलम कृषि फार्म पोखरा १४ का याम बहादुर घर्तीले दुई हजार ६७ केजी गोलभेँडाको रु.२३ हजार ४७५ बुझ्नुभयो ।

रोशन एन्ड रोहित कृषि फार्म पोखरा १४ का रमेश खनालले २१ हजार ३१४ केजी गोलभेँडाको रु दुई लाख १९ हजार ३२९, पोखरा हिमाल कृषि फार्म पोखरा १४ का बुद्ध गुरुङले एक हजार ७५ केजी सिमी र २८२ केजी गोलभेँडाको रु.१५ हजार ५२४ र हरियाली कृषि फार्म पोखरा ३३ का शुकदेव सुवेदीले २९१ केजी कोदोको रु आठ हजार ७३० पाउनुभयो ।कृषकहरूलाई समर्थन मूल्य प्रदान गर्दै प्रमुख आचार्यले महानगरपालिका कृषकहरूको साथमा रहेको बताउनुभयो ।

“कृषि उपजहरूको सुरक्षित ढुवानीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्स र समर्थन मूल्य कृषि व्यवसाय र कृषकहरूका लागि निकै महत्त्वपूर्ण छन् ।” प्रमुख आचार्यले भन्नुभयो ।

कृषि व्यवसायमा लागेका कृषकहरू हतोत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी बनाइएको महानगरले जनाएको छ ।
समर्थन मूल्य प्राप्त गरेपछि कृषकहरूले कृषि व्यवसायका क्रममा आफूले बेहोर्नु परेको नोक्सानीमा मलहम लगाउन पोखरा महानगरपालिका सारथी बनेको र यसले आफूहरूलाई प्रोत्साहन मिलेको कृषकहरुको भनाई छ ।

Comments
Loading...