पोखराको पुम्दीकोट महादेव मूर्ति दर्शनमा एकै दिन १० हजार बढी भक्तजन

हिमाली आवाज । पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा अवस्थित प्रसिद्ध विशाल महादेव मूर्तिको दर्शनका लागि आज एकै दिनमा १० हजार बढी श्रद्धालु भक्तजन पुगेका छन् ।

महाशिवरात्री पर्वका अवसरमा पोखरा तथा आसपासका जिल्लाहरुबाट समेत ठूलो संख्यामा भुमेश्वर(महादेव) को पूजाआजाका लागि भक्तजनको भीड लागेको थियो ।

महाशिवरात्रि पर्वको अवसरमा बिहानदेखि दर्शनार्थी र पर्यटकहरूको महादेव मूर्ति परिसरमा सहभागिता भएको र यस वर्षको सबैभन्दा बढी दर्शनार्थी आएको पुम्दीकोट विकास संस्थाका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो ।

दक्षिण फर्काएर राखिएको ५१ फिट अग्लो महादेवको मूर्तिको दर्शन तथा दूध चढाउनका लागि भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
श्रद्धालु भक्तजनहरुले बिशाल महादेवको मूर्ति परिसरमा पुगेर पूजाआजासहित एक सय आठ शिव लिङ्गमा दूध चढाएका छन् ।

पुम्दीकोट पछिल्लो समयदेखी पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास भएको छ । पोखराको मुख्य बजार क्षेत्रबाट १३ किमी दूरीमा रहेको विशाल महादेवको मूर्तिसँगै यहाँबाट पोखरा, फेवाताल र हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ ।

भगवान् शिवको विशाल मूर्तिसहित आकर्षक भौतिक संरचना निर्माण थालिएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको संस्थाका अध्यक्ष बरालले बताउनुभयो । विभिन्न पर्वहरु बाहेक पनि दैनिक यहाँ स्वदेश तथा विदेशबाट समेत पर्यटकहरु पुग्ने गरेका छन् ।

यसैगरी महाशिवरात्रीका अवसरमा आज पोखराका अन्य विभिन्न शिव मन्दिरहरुमा समेत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । विन्ध्यवासिनी मन्दिर, केदारेश्र लगायतका मन्दिरहरुमा भक्तजनहरुले पूजाअर्चना तथा दूध चढाएका छन् ।

Comments
Loading...