पोखरामा बन्ने भयो ‘पोखरा घर’, आर्ट ग्यालरी, घण्टाघर र सूचना केन्द्र रहने

हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्र सहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ ।

पोखरा महानगरपालिकाले महानगरको सातौँ स्थापना दिवस अवसर पारेर घरको शिलान्यास गरिएको हो ।पोखरा–९ पृथ्वीचोकमा निर्माण हुने घरको महानगर प्रमुख धनराज आचार्यले एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभयो ।पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्ने विश्वास लिइएको छ । घर पाँच तलाको निर्माण हुने भएको छ ।

यसको लागत रु पाँच करोड एक लाख ४६ हजार पाँच सय ५१ रहेको र निर्माणका लागि कोजु इन्जिनियरिङ÷आरुसी÷एवीसी जेभिसँग सम्झैता गरिएको महानगरका पूर्वाधार विकास महाशाखाका प्रमुख इन्जिीनियर सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार घरको निर्माण आगामी डेढ वर्षभित्रमा सम्पन्न गर्ने सम्झौता गरिएको छ ।

भवनको भुईतलामा पार्किङ, पहिलो तलामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय र मिटिङ हल, तेस्रो तलामा आर्ट ग्यालरी तथा सो भन्दा माथि घण्टा घर रहने इन्जिीनियर पाण्डेले बताउनुभयो ।कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरा घरले समग्र पोखराको विस्तृत जानकारी दिने केन्द्र बन्ने बताउनुभयो ।उहाँका अनुसार पोखराका आउनेहरुका लागि यो घर एउटा महत्वपूर्ण स्थल बन्नेछ ।

“पोखरा घर परम्परागत वास्तुकला र पछिल्लो प्रविधिको प्रयोग गरेर काठको बार्दली समेतको मौलिक बन्ने छ । यसको सञ्चालनका लागि विगतमा महेन्द्रपुलमा भत्काइएको जीर्ण भवनमा रहेका संस्थाहरुसंगनै सहकार्य गर्नेछौँ ।” आचार्यले भन्नुभयो ।

पोखराको महेन्द्रपुलमा यसअघि रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय रहेको भवन जीर्ण भएपछि महानगरले भत्काएको थियो । सो स्थानमा अहिले अन्तर्राष्ट्रिय झण्डा पार्क र सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले भवन निर्माणका लागि स्रोतको कमी हुन नदिइने प्रतिवद्धता जनाउनुभयो । थापाले पोखराको विकासको समग्र विकासको खाका तयार भइरहेको उल्लेख गर्नुभयो ।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले लामो समयको प्रतिक्षापछि पोखरा घरको शिलान्यास गरिएको बताउँदै दीर्घकालीन विकासको सोच अनुरूप विकास निर्माणको काम अगाडि बढेको बताउनुभयो ।

Comments
Loading...