अब पोखरा पर्यटनको राजधानी,चैत ४ गते घोषणा गरिदै

हिमाली आवाज । प्राकृतिक सम्पदाले विश्वमा प्रख्यात गण्डकी प्रदेशको राजधानी सहर पोखरा अब देशकै पर्यटनको राजधानी घोषणा गरिने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते भव्य समारोहकाबीच पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा भव्य समारोहकाबीचमा घोषणा कार्यक्रम गरिने प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिँह गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार घोषणा मुल समारोह अघि विहान १०ः१५ बजे बसुन्धरा पार्कबाट विभिन्न सांस्कृतिक झाँकीसहितको ¥याली निकालिनेछ । घोषणा समारोह फेवाताल किनार बाराही घाटमा हुने आयोजकले जनाएको छ।

“प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकी सहितको ¥यालीपछि समारोह हुनेछ । राजधानी सहरको सिम्बोल अनावरणपछि औपचारिक रुपमा घोषित हुनेछ ।” गुरुङले भन्नुभयो ।

घोषणा समारोहलाई भव्य बनाउका लागि पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । सो समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरु, पोखराका छिमेकी पालिकाहरु रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, स्याङ्जाको फेदीखोला, तनहुँको शुक्लागण्डकी, पर्वतको कुश्मा र मोदी गाउँपालिकाका अध्यक्ष, पर्यटन सङ्घ संस्था लगायत रहेका छन् ।
राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा समेत बुझाउनका लागि नेपाल स्थित चीन र भारतका राजदुत र विभिन्न देशका नेपाल स्थित कुटनीतिक नियोगका प्रमुखलाई आमन्त्रण गरिएको बताइन्छ ।

प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको थियो । सो समितिले गत फागुनमा प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी भव्य बनाउने गरी तयारी गरिएको बताउनुभयो । पोखरा पर्यटनको पर्यायवाची भएकाले धेरै लामो छलफल र अध्ययनपछि औपचारिक रुपमा राजधानी घोषणा गर्न लागिएको बताउनुभयो ।

“पोखरा के हो भन्नेमा कुनै दुविधा छैन, पोखरा पर्यटनको केन्द्र हो, गन्तव्य हो र पर्यटनको पर्यायबाची हो । सबै हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन नभन्ने भनेर घोषणा गर्दछौँ । यसबाट गण्डकी प्रदेश सहित समग्र देशको समृद्धिमा टेवा पुग्नेछ । ” महानगर प्रमुख आचार्यले भन्नुभयो ।

आचार्यले पर्यटकीय राजधानी घोषणपछि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता लगायतमा सुधार गर्दै लगिने बताउनुभयो ।
पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । व्यवसायीले लामो समयदेखी राजधानी घोषणा गर्न माग गर्दै आएका थिए।

Comments
Loading...