पोखरा पर्यटन राजधानी घोषणाः हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनको जग

वासुदेव पौडेल÷कृष्ण दवाडी
हिमाली आवाज । सन् १९५० मा गरिएको विश्वकै पहिलो अन्नपूर्ण हिमाल आरोहण होस् वा सन् १९६० देखि हुन थालेको हिप्पी पर्यटकको आगमन यीनै जगमा फस्टाएको हो पोखराको पर्यटन । प्रकृतिको बरदान पोखरा यिनै जगबाट उठ्दै आज पर्यटन राजधानीका रुपमा आफ्नो अर्को पहिचान थपेको छ ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाद्वरा संयुक्त रुपमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दहाल(प्रचण्ड)ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुभएको हो ।
पोखराका कुनाकुनाबाट उत्साहका साथ सहभागी स्थानीयको ठूलो उपस्थितिका बीच पोखरालाई पर्यटन राजधानी घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले “प्राकृतिक, संस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, भन्नुभयो । पोखरावासीले गडगडाहट तालीका साथ वर्षौदेखिको पोखरालाई पर्यटकीय राजधानी घोषणा गराउने सपना विपनामा परिणत भएको अनुुभूति गरिरहेका थिए ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि लामो समयदेखि प्रयास हुँदै आएकोमा धेरै समयको प्रयासपछि औपचारिक घोषणाको समय आज मिलेको हो । घोषणाको तयारीका लागि गण्डकी प्रदेश सरकारले प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । उक्त समितिले विभिन्न सुझाव सहित सरकारलाई आफ्नो प्रतिवेदन पेश गरेको थियो ।
पर्यटनको राजधानी बनाउन आवश्यक न्यूनतम आधार उल्लेख गर्दै सो समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न सुझाव दिएको थियो । आवश्यक पूर्वाधार विकाससँगै दीर्घकालमा निरन्तर पर्यटक आईराख्ने वातावरण बनाउनका लागि सुझाएको समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक उडान, त्यहाँबाट सार्वजनिक सटल बस सञ्चालन गर्न, प्रदुषण कम गर्न विद्युतीय गाडीको प्रोत्साहन, पोखराका पर्यटकीय गन्तव्यको नाम र ठाउँबारे नेपाली र अंग्रेजी भाषामा डकुमेन्ट्री बनाउन तथा पोखरालाई छाडा चौपाया मुक्त बनाउनुपर्ने लगायतका विभिन्न सुझाव दिएको थियो ।
पर्यटन राजधानी घोषणासँगै पूर्वाधार निर्माण लगायतका कामलाई प्राथमिकताका साथ अघि बढाउँदै लैजाने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउनुहुन्छ । पर्यटन राजधानी घोषणाले यहाँको पर्यटकीय पहिचानलाई अझै उचो बनाएको उहाँले बताउनुुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पोखरेली जनताको सपना र अनवरत प्रयासबाट पोखरा सहित समग्र गण्डकी प्रदेशको पहिचान थपिएको बताउनुुभयो ।
प्राकृति, सांस्कृति र साहसिक पर्यटनका दृष्टिले अनुपम गन्तव्य पोखरा मुलुककै पर्यटन राजधानी घोषणा हुनु आँफूहरूका लागि गौरवको विषय भएको उहाँले बताउनुुभयो । यसले गण्डकी प्रदेश सहित मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपेको उहाँको भनाइ छ ।
पोखरा पर्यटन राजधानी घोषणालाई अर्थपूर्ण रुपमा हेरिएको पोखराका पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुुभयो ।
यो घोषणासँगै पोखराको पर्यटकीय गरिमा र महत्वलाई थप उजागर गरेको बताउँदै उहाँले आगामी दिनमा यहाँका्े प्रवद्र्धनसँगै पर्यटन राजधानीस्तरीय पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुुभयो । पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट छ खर्ब भन्दा बढी लगानी भैसकेको बताउँदै उहाँले यसको विश्वव्यापी प्रवद्र्धनका लागि तीनवटै तहका सरकार र निजी क्षेत्र सहकार्य गर्दै अघि बढ्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो । पोखरामा लगभग वार्षिक १० लाख पर्यटक भित्रने गरेको बताउँदै उहाँले २० लाख पर्यटक भित्राउने गरी लाग्नुपर्नेमा जोड दिनुुभयो ।
“हामी छिमेकी भारत तथा चिनबाट अधिकतम पर्यटक भित्राउने गरी लाग्नुु जरुरी छ”, उहाँले भन्नुुभयो, “यसका लागि प्रवद्र्धनलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुुपर्छ ।”
हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यको पोखरा बास बसेसँगै पोखरा क्रमशः पर्यटकीय गन्तव्यका रूपमा स्थापित बनेको पाइन्छ । इतिहासअनुसार सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनीहरूले आउँदाजाँदा बस्ने ठाउँ पोखरा नै रोजेका थिए । सन् १९६० को दशकमा हिप्पी पर्यटककको आगमनपछि थालिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि सुरु हुँदै यहाँको पर्यटन विस्तारै फस्टाउन थालेको पाइन्छ । हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनका जगमा फस्टाउँदै गएको यहाँको पर्यटनमा त्यस यता व्यवसायीहरूले लगानी थप्दै गएको व्यवसायी बताउँछन् ।
माछापुच्छ«े फेवातालमा पौडने, तालै तालको शहर, आदि उपमा पाएको पोखरामा पछिल्ला समयमा विभिन्न पर्यटकीय पूर्वाधार पनि निर्माण भैरहेका छन् । विभिन्न राष्ट्रबाट आउने पर्यटकका साथै अतिविशिष्ट व्यक्तिले पनि यहाँको मुक्त कण्ठले प्रशंसा गरेको पाइन्छ । समय समयमा विदेशि अतिविशिष्ट व्यक्तिले भगवानले फुुर्सदमा बनाएको शहर जस्ता उपमा दिनुले पनि यहाँको महिमा र गरिमा अझै चुलिएको छ ।
इतिहासमा उल्लेख भएअनुसार यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णनले पनि पोखराको भ्रमण गर्नुभएको थियो ।
त्यसयता पोखरामा विसं २०७२ चैतमा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन)मा सार्क राष्ट्रका विशिष्ट पाहुनाहरूले पोखराको भ्रमण गर्नुुभएको थियो ।  त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणदेखि विसं २०७३ कात्तिकमा भएको भारतीय राष्ट्रपति मुखर्जीसम्मका औपचारिक भ्रमणले यहाँको सौन्दर्यता विश्वमाझ पुुगेको थियो ।
पोखरामा विसं २०७६ कात्तिकमा बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद फेवातालमा डुंगा सयरदेखि हिमाल अवलोकन आदि गतिविधिमा सरिक बन्नुुभएको थियो भने यही वर्ष कात्तिक १३ गते पोखरा आउनुुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिए गुटेरेस यहाँ आएर नौका विहारदेखि पुम्दीकोटमा हिमाल पोखराको दृश्यावलोकन गर्दै यहाँको सुन्दरताको प्रशंसा गर्नुुभएको थियो ।
पोखरा आउने पर्यटकले फेवातालमा डुबुल्की मारेजस्तै देखिने माछापुच्छ«े हिमाल सहितको दृश्य अवलोकनसँगै आसपासका लेखनाथ क्षेत्रका बेगनास, रुपा लगायतका तालतलैयाको अवलोकन गर्ने गरेका छन् । त्यस्तै सराङ्कोटबाट सूर्योदयको अवलोकनसँगै प्यारग्लाइडिङ, जिपलाइन आदि गर्ने गर्दछन् । पोखराका प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल विन्दुवासिनी, तालबाराही, भद्रकाली आदिको दर्शनसँगै हालै पुम्दीकोटमा बनेको विशाल महादेव मूर्ति, विश्व शान्ति स्तुपसँगै काहुँ धरहरा आदिको अवलोकन गर्दछन् । पोखराका पातले छाँगो, गुप्तेश्वर महादेव गुफा, महेन्द्र गुफा, चमेरे गुफा आदि यहाँका प्रमुख पर्यटकीय पर्यटकीय हुन् । यिनै विधितालाई देखेर नै कवि मुकुन्दशरण उपाध्यायले आफ्नो  वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा भन्नुभएको छ,
“कहीं हिमाल मात्रै छन् कहीं ता ताल मात्र छन् ।
कहीं पहाड मात्रै छन् कहीं मैदान मात्र छन् ।।
कहीं छन् छहरा मात्रै पहरा कहीं केवल
नदी मात्रै कहीं बग्छन् कहीं छन् खाली जंगल ।।
सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीं धरा
तर सम्पूर्ण शोभाले परिपूर्णछ पोखरा ।।”
सुन्दर प्राकृतिक विविधताले सजिएको पोखरा पर्यटन राजधानी घोषणा हुनुु यहाँको मात्र नभै गण्डकी प्रदेश र समग्र नेपालकै पर्यटनको लागि महत्वपूर्ण उपलब्धि भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठको भनाइ छ । –––
Comments
Loading...