हिमाली आवाज । पोखराका पर्यटन व्यवसायीहरुले पोखरा पर्यटनको राजधानी घोषणा भएसँगै व्यवसायी बचाउने र लगानी सुरक्षित गर्दै नविनतम योजना ल्याउन नेपाल राष्ट्र बैँक समक्ष माग गरेका छन् ।
राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारी समक्ष उनीहरुले बैँङ्ककको कर्जाको ब्याजदर घटाएर एकल अङ्कमा ल्याउने लगायतका विभिन्न छ बुँदे माग राखेका हुन् ।
पोखरा पर्यटन परिषद्को नेतृत्वमा शुक्रबार पोखरामा व्यवसायीहरुले गर्भनर अधिकारी समक्ष आर्थिक मन्दीको अहिलेको अवस्थामा राष्ट्र बैँङ्क र सरकारले ल्याउने नीति व्यवसायी जीवनरक्षाको लागि सञ्जिवनी बुटी बन्न सक्ने तर्फ अवगत गराएका हुन् ।
व्यवसायीहरुले व्याजदर एकल अङ्क र घर कर्जाजस्तै व्यवसायिक कर्जाको समायावधि अधिकतम हुनुपर्ने, पर्यटन क्षेत्रमा बैँक तथा बित्तिय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने, चालूपँुजी कर्जा निर्देशन अनुसार कारोवारको आधारमा चालूपँुजी कर्जा प्रदान गर्न माग गरेका हुन् ।
व्यवसायीले व्याज तथा किस्ता तिर्न नसकेको कारणले लाग्ने जरिवाना छुट गरिनुपर्ने, पुनकर्जा र पुर्नतालिकिकरणको समय बढाउनु पर्ने र भारतिय मुद्राको डिपोजिट सहज एवम् रु दुई सय र रु पाँच सयको नोटलाई सहजरुपमा चल्ने वातावरण बनाउनु माग गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।
उहाँले पोखरा पर्यटनको राजधानी घोषणा भएसँगै व्यवसायी बचाउने र लगानी सुरक्षित गर्नका लागि राष्ट्र बैँकले विशेष प्याकेज ल्याउन माग गर्नुभयो ।
“व्यवसायमा आएको गिरावट र चर्काे बैंङ्क ब्याजदरका कारण कतिपय पर्यटन व्यवसायी पलायन भएका छन् । बैंङ्कबाट लिएको ऋण तिर्न सक्ने अवस्था छैन, मानसिकता नकारात्मक बन्दै छ । त्यसैले यो बेला हामीलाई अभिभावक चाहिएको छ, ऋण तिर्न सक्ने समय र उत्प्रेरणा चाहिएको छ । ” श्रेष्ठले भन्नुभयो ।
मौद्रिक नीतिको समिक्षा गरी व्यवसायीमैत्री वनाउन र व्यवसायीहरुको माग सम्वोधन हुने अपेक्षा पर्यटन व्यवसायीको छ ।प्रदेशको साना मझौला तहका सवै व्यवसायलाई बाँचन सक्ने गरी नीति ल्याउने अपेक्षा गरिएको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताउनुभयो ।