पर्यटन राजधानी पोखरामा होलीमा रङ्गिए पर्यटक(फोटो फिचर)

हिमाली आवाज । देशको पर्यटकीय राजधानी सहर पोखरामा विदेशी पर्यटक समेत होलीमा रमाएका छन् । पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक समेत एकापसमा रङ्ग दलेर रङ्गिएका हुन् ।

रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा होली महोत्सव आयोजना गरेको थियो । महोत्सवमा पर्यटक बाजागाजा सहित नाचगान र विभिन्न रंगहरु अनुहारमा दलेर रमाएका हुन् ।

विभिन्न देशका पर्यटकहरुले एकापसमा रंग दलेर होलीमा रमाइलो गरे । होली महोत्सव अन्तर्गत अम्मट चौतारामा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहभागी गराई सामुहिक रुपमा होली खेलिएको थियो । पञ्चे वाजा र गीत संगितका साथमा होली मनाइएको रेवान पोखराका अध्यक्ष नरेश बहादुृर भट्टराईले बताउनुभयो ।

पर्यटकहरु होली खेल्दै गौरीघाट, वाराहीचोक हल्लनचोक हुदै खहरेचोक सम्म पुगेका थिए । पोखरामा पाँच सय विदेशी पर्यटक होलीमा रमाएको रेवानले जनाएको छ ।

रेवानका अध्यक्ष भट्टराईले विगतदेखीनै होली पर्वमा विदेशी पर्यटकहरुले समेत रमाईलो मानेर सहभागी हुने गरेको बताउनुभयो ।
रेवानले एक दशकअघिदेखी होली महोत्सव आयोजना गर्दै आएको छ । होलीमा रमाइलो गर्नका लागि भनेर कतिपय पर्यटकले पोखराको बसाई लम्ब्याउने गरेको भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो,“स्वदेशी मात्र होइन विदेशी पर्यटकहरु समेत होलीमा रमाउने गरेका छन् । कतिपय पर्यटकले आफ्नो देश फर्कने तालिका समेत पछि सारेर होलीका लागि बस्ने गरेका छन् । ”

चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका देशका पर्यटकहरु होलीमा रमाएका हुन् । पर्यटकलाई रमाईलो गराउनका लागि लेकसाइडको सडकमा पञ्चेबाजा, विभिन्न अङ्ग्रेजी गीत सङ्गित तथा तृत्य प्रस्तुत गरिएको थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फागूपूर्णिमा मनाउनका लागि स्वदेशी पर्यटकको समेत गन्तव्य पोखरा बनेको बताउनुभयो । होलीका लागि देशका विभिन्न भागहरुबाट समेत पर्यटक यहाँ आएको उहाँले जानकारी दिनुभयो ।

“होली मनाउने उपयुक्त गन्तव्य पोखरा बन्दै गएको छ । यहाँ भएका विदेशी मात्र होइन, स्वदेशी समेत आउने गरेका छन् ।”श्रेष्ठले भन्नुभयो ।

Comments
Loading...