खेलकुदमन्त्री श्रेष्ठद्धारा पोखरा रंगशाला निरीक्षण

हिमाली आवाज । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पोखरा रंगशालाको आज निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले रङ्गशालाभित्र रहेका अन्तर्राष्ट्रिय फुटबल स्टेडियम, क्रिकेट मैदान, टेनिस कोर्ट, भलिबल कोर्ट, स्क्वास लगायतका खेलका पूर्वाधारको अवलोकन गर्नुभएको हो ।
खेलकुदमन्त्री श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानिया, प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले खेल पूर्वाधार र खेलकुद क्षेत्रका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

यसैगरी रङ्गशालाको निरीक्षणपछि सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले राजनीतिक नियुक्ति लिएर जनैमा साँचो हाले जसरी बसेर खेलाडी र खेल क्षेत्रलाई बन्धक बनाउने राजनीति अब बन्द गर्नुपर्ने जिकिर गर्नुभयो ।
“खेल क्षेत्रमा अब फोहारी राजनीति बन्द गरौँ । खेलकुद संरचना बनाउने, खेलाडीको भविष्य उज्जवल बनाउने राजनीति मात्र गरौँ ।”उहाँले भन्नुभयो ।
खेलकुदमन्त्री श्रेष्ठले पोखरा रङ्गशालाभित्रका खेल पूर्वाधारको अवलोकनपछि आफू उत्साहितसँगै पूर्वाधार संरक्षणलाई लिएर भने चिन्तित बनेको बताउनुभयो ।
राज्य र जनताको करबाट निर्मित संरचना अथिकतम टिकाउनुपर्ने चूनौती रहेको उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो,“सरकार बाहेक पनि कतिपय संरचना खेलाडी, प्रशिक्षक र खेलाडीका परिवारबाट समेत बनेका रहेछन् । खेल पूर्वाधार संरक्षण भएन भने छिट्टै विग्रन्छ । राम्रा संरचना संरक्षण नुहुन चिन्ताको विषय रहेको छ ।”
मन्त्रालयले आगामी वर्ष खेल पूर्वाधार संरक्षणका लागि समेत बजेट विनियोजन गर्ने तयारी गरेको जानकारी दिनुभयो । खेलकुदमा लगायनी गर्नका लागि पछिल्लो समय नीजि क्षेत्र उत्साहित रहेकाले सार्वजनिक तथा नीजि क्षेत्रको सहकार्यबाट खेलकुद विकास गरिने उहाँले बताउनुभयो ।

Comments
Loading...