कास्की कारागारमा एक सय ८८ जना कैदी बन्दीको निःशुल्क आँखा जाँच

हिमाली आवाज । नेत्रज्योति दिवसका अवसरमा आज कास्की जिल्ला कारागारमा आयोजना गरिएको निःशुल्क आँखा जाँच शिविरबाट एक सय ८८ कैदी बन्दी तथा थुनुवा लाभान्वित भएका छन् ।‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ ४६औ नेत्रज्योति दिवस मनाइएको हो ।

नेपाल नेत्रज्योति सङ्घ कास्की र हिमालय आँखा अस्पताल पोखराको आयोजना तथा जिल्ला कारागार कार्यालयको समन्वयमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा एक सय ५८ पुरुष र ३० जना महिलाले उपचार सेवा लिएका छन् । सो अवसरमा कैदी बन्दीहरुलाई औषधी र चस्मा वितरण गरिएको थियो ।

यसैगरी आठ जनालाई दृष्टि डोज र तीन जनालाई मोतिया विन्दुको समस्या देखिएको हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मोतिया विन्दुका बिरामीलाई शल्यक्रियाका लागि अस्पतालमा बोलाइएको छ ।
कैदी तथा थुुनुवाहरु पहुँच नभएका कारण स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भनेर शिविरको आयोजना गरिएको नेपाल नेत्र ज्योति सङ्घ कास्कीका अध्यक्ष सुरेन्द्रथापा मगरले जानकारी दिनुभयो ।

कारागार प्रशासनले समेत दैनिक रुपमा बन्दीको स्वास्थ्य जाँच गर्दै आएको छ । बिरामीको अवस्था हेरेर थप उपचार आवश्यक परेमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाउने गरिएको कारागार स्वास्थ्य प्रमुख तपरमण पोखरेलले जानकारी दिनुभयो ।कैदीहरुमा मुख्यगरी छाला, मानसिक रोग, उच्च रक्तचाप, मधुमेह लगायतका स्वास्थ्य समस्या बढी हुने गरेको बताइन्छ ।

कास्की कारागारमा चार सय २० जनाको क्षमता रहेता पनि हाल सात सय ७४ जना कैदी बन्दी रहेको कारागार निमित्त प्रमुख राजेन्द्र शर्माले जानकारी दिनुभयो । कारागारमा महिला ४८ जना, पुरुष सात सय २४ र दुई जना नाबालक रहेका छन् ।

Comments
Loading...