एमाले कास्कीको नेतृत्वका लागि मतदान सुरु,अध्यक्षमा बास्तोला र अधिकारीको प्रतिस्पर्धा

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले)कास्कीको ११ औँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।यही चैत १० गतेदेखी पोखरामा सुरु भएको अधिवेशनको आज साँझ ७ः३० बजेपछि मतदान सुरु भएको हो ।

नेतृत्वका लागि पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी निकटका दुई प्यानलबीच चुनाव हुन लागेको छ । दुई समूहबीच अध्यक्ष देखी सदस्यसम्म प्यानल बनेको छ ।

अध्यक्षका लागि युवा संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष माधव बास्तोला, हालका सचिव बैनबहादुर अधिकारी र जिल्ला सदस्य विवेक त्रिपाठीले उम्मेदवारी दिनुभएको छ । बास्तोलालाई गुरुङ र अधिकारीलाई खगराजको समर्थन रहेको छ ।

पार्टीमा गुटबन्दी बढेकाले त्यसलाई रोक्नका लागि भन्दै त्रिपाठीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । एमाले अधिवेशनमा नौ सय २९ प्रतिनिधि सहभागी रहेका छन् ।

यसैगरी उपाध्यक्षमा बास्तोला समूहबाट शिव आचार्य र अधिकारी समूहबाट भेषराज बरालबीच प्रतिष्पर्धा हुँदैछ । सचिवमा बास्तोला समूहबाट सुरेन्द्र गुरुङ र अधिकारी समूहबाट दर्शन लामाले उम्मेदवारी दिनुभएको छ ।

उपसचिवमा राधिका शाही योगी र सीता परियार तथा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेद्वारी दर्ता गराउनुभएको छ । उपसचिवमा स्वतन्त्र रुपमा संगिता सुवेदीको पनि उम्मेदवारी रहेको छ । पोखरा सभागृहमा जारी अधिवेशनमा ९ सय ३५ प्रतिनिधि सहभागी छन् ।

Comments
Loading...