पत्रकार महासंघ स्थापना दिवसमा पराजुली र भण्डारी परिवारलाई पोखरा पत्रकारिता सम्मान

हिमाली आवाज । नेपाल पत्रकार महासंघ कास्कीले पोखरा पत्रकारिता सम्मान अर्पण गर्दै ५९ औं स्थापना दिवस मनाएको छ ।
महासंघ कास्कीले पत्रकार गंगाधर पराजुलीलाई २०७९ र राजु भण्डारी एवं भण्डारी परिवारलाई २०८० सालको पोखरा पत्रकारिता सम्मान अर्पण गरेको हो । शुक्रबार पत्रकार महासंघको सभाहलमा भएको स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

पत्रकार गंगाधर पराजुलीलाई नगद ५० हजार ५५५ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । भने, भण्डारी परिवारलाई पत्रकार महासंघको संस्थागत विकासमा टेवा पु¥याएकाले दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको हो ।

स्थापना दिवसकै अवसरमा पत्रकार महासंघ कास्कीले ‘पत्रकारितामा देखिएको संकट र समाधानका उपायहरु’ विषयमा संवाद पनि गरेको थियो । संवाद कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पत्रकारितालाई नियन्त्रणभन्दा पनि नियमनको जरुरी रहेको बताउनुभएको थियो ।

‘स्वतन्त्रता र छाडातन्त्र भनेको के हो भनेर मुलधारमा काम गर्ने पत्रकारहरुले अन्यलाई बुझाउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल र पत्रकारिता फरक कुरा हुन् भन्ने आम जनतालाई बुझाउन सकिएको छैन् । यो पत्रकार र सरकारका लागि चूनौति हो ।’ यो भ्रम चिर्नका लागि साझा प्रयासको जरुरी रहेको उहाँले बताउनुभयो ।

सोही अवसर गण्डकी प्रदेश सरकाले सञ्चारको क्षेत्रमा धेरै काम गरिहेको सुनाउनुभयो । ‘हामीले आमसञ्चार विधेयक पारित गरिसकेका छौं । त्यसमा प्रेस रजिष्टारको कार्यालय पनि छ,’ उहाँले भन्नुभयो, ‘यो कार्यान्वयनमा गएपछि सरकारको खासै आवश्यकता पर्दैन् । पत्रकारिताका लागि जे गर्नुपर्छ विधेयकमा परिकल्पना गरिएको काम प्रेस रजिष्टार कार्यालयले नै गर्छ ।’ यो बाहेक पनि सरकारले गर्नुपर्ने काम गर्न आफू तयार रहेको उहाँले बताउनुभयो ।

सरकारको नीति तथा कार्यक्रम बनाउने क्रममा पनि पत्रकार महासंघ कास्कीसँग सहकार्य गरिरहेको उहाँले सुनाउनुभयो । ‘छलफलपछि लोक कल्याणकारी विज्ञापनमा पहिला भएकोमा ५० प्रतिशत वृद्धि गरेको छु । पत्रकारको स्वास्थ्य विमा हुनुपर्छ भनेर त्यो कार्यक्रम पनि ल्याएको हो,’ उहाँले भन्नुभयो, ‘पत्रकारहरुका लागि फेलोसिप दिने भनेर २० लाख पनि छुट्याएको छु । आगामी दिन आर्थिक अवस्था हेरेर नीति कार्यक्रम बनाउँला ।’

कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष बद्रीविनोद प्रतिकले पत्रकारितामा देखिएको समस्या र चूनौति समाधानका लागि पत्रकारहरु नै जागरुक हुनुपर्ने बताउनुभयो । पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले पत्रकार सरकारको स्थायी प्रतिपक्ष रहेकोले सोही अनुसार कलम चलाउनुपर्ने बताउनुभयो । पत्रकारिता बौद्धिक पेश भएकाले यसलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले आफूहरु पत्रकारहरुको हकहितका पक्षमा काम गरिरहेको बताउनुभयो । काम गर्ने समयमा केही कमजोरी भए आगामी दिनमा सच्याउँदै अघि बढ्ने उहाँले सुनाउनुभयो ।
कार्यक्रममा सम्मानित गंगाधर पराजुलीले पुरस्कारले पत्रकारिता क्षेत्रमा कमल चलाउन हौसल बढेको बताउनुभयो । ‘म केही समय अघिसम्म सक्रिय रुपमा पत्रकारितामा थिए । पछिल्लो समय केही निस्क्रिय जस्तै थिरु,’ उहाँले भन्नुभयो, ‘यो पुरस्कारले यही क्षेत्रमा रहिरहनुपर्छ भनेर हौसला मिलेको छ ।’ सम्मानित व्याक्ति राजु भण्डारीले संस्थागत रुपमा गरिएको सम्मानले पत्रकारिता क्षेत्रसँग परिवारको निकटता झनै बढेको बताउनुभयो ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले स्थापना दिवसको अवसरमा शुभकामना दिदैं पत्रकार महासंघका सदस्यहरुलाई परेको समस्यामा सधैं साथमा रहेको बताउनुभयो । महासंघ कास्कीमा आएका लिखित तथा मौखिक उजुरीका साथै जानकारी भएसम्ममा समस्या समाधानका लागि पत्रकार महासंघ कास्कीले कुनैपनि कसर बाँकी नराखी काम गरेको सुनाउनुभयो । समस्या र चूनौतिका बिचमा पनि धेरै काम गरिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर नेपालका इन्चार्ज सन्देश श्रेष्ठ, प्रेस चौतारी नेपाल कास्कीका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, संसदीय पत्रकार महासंघ गण्डकीका अध्यक्ष भरत कोइराला, नेकपा एमाले कास्कीका सचिव दर्शन लामालगायतले पत्रकारिता क्षेत्रको चूनौति समाधानका लागि पत्रकार नै सक्रिय र जिम्मेवार हुनेपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक कोमलनाथ बरालले सम्मानति व्याक्तिहरुको बारेमा परिचय दिनुभएको थियो । महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव माधव बरालले गर्नुभएको थियो ।

Comments
Loading...