हिमाली आवाज । अटीजम भएका बालबालिकाहरुलाई विशिष्ट तथा समावेशी शिक्षा दिनुपर्नेमा जोड दिइएको छ । अटीजम केयर सोसाइटी गण्डकीको आयोजनामा भएको कार्यक्रममा सहभागी वक्ताहरुले अटिजमको कुनै उपचार नभएकाले व्यवहारमा परिर्वतन गराउँदै जानुपर्नेमा जोड दिएका हुन् ।
अटीजम केयर सोसाइटी गण्डकीका अध्यक्ष मुकुन्द लम्सालले अटीजम भएका बालबालिकाहरुलाई छुट्टै शिक्षा दिदा उनीहरु सामाजिकीकरणपनि नहुने र बौद्धिक स्तरपनि कमजोर हुने बताउनुभयो ।अटीजम भएका बालबालिकालाई सकभर छुट्टै शिक्षा दिने, त्यसो नभए एउटै विद्यालय भएपनि छुट्टै अध्ययनको व्यवस्था हुँदै आएको बताउँदै अटीजम भएकाहरुलाई अन्य विद्यार्थीसँगै राखेर पढाउँदै समावेशी शिक्षा नहुने उल्लेख गर्नुभयो
बालरोग विशेषज्ञ डाक्टर नवराज सुवेदीले अभिभावकले आफ्ना बालबालिकालाई अटीजम भएको नस्वीकार्ने बताउँदै सहज स्वीकार्यताका लागि अभिभावकमाझ क्याम्पेनिङ गर्न आवश्यक छ भन्नुभयो ।

राष्ट्रिय अपाङ्गता महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले अटीजम भएका बालबालिकाको जीवनयापन, शिक्ष, दीक्षाका लागि वातावरण बनाउने जिम्मेवारी र दायित्व सबैको भएको बताउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक गण्डकीका प्रमुख शिवप्रसाद खकुरेलले अटीजम भएका बालबालिका शिक्षाबाट विमुख हुने गरेको उल्लेख गर्नुभयो । ‘सरकारले नै त्यस्ता बालबालिकालाई शिक्षामा समावेश गर्न सकेकेको छैन,समावेशी शिक्षा त झन् टाढाको कुरा हो ।’ खकुरेलले भन्नुभयो ।
मन्टेश्वरी एशोसियसन कास्कीकी अध्यक्ष भवानी अधिकारी बरालले अभिभावकले आफ्ना बालबच्चालाई अटीजम भएको स्वीकारेर सोहि अनुसारको वातावरण दिन आग्रह गर्नुभयो ।
बुद्ध मन्टेश्वरीकी सञ्चालिका अप्सरा अधिकारीले अटीजम भएका बालबालिका अध्यापन गर्ने विद्यालयका शिक्षकहरुलाई नियमित तालिम प्रदान गर्न माग गर्नुभयो ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले अटीजम भएका बालबालिकाका बारेमा आफूहरु अनभिज्ञ भएको बताउनुभयो । योबारे धेरै थाहै थिएन त्यसैले यसका लागि बजेट नै थिएन सायद ! तर अब सकेको सक्दो सहयोग गर्छौं, बजेटपनि छुट्याउँछौं आलले भन्नुभयो ।
विश्वमा हरेक ३६ जनामध्ये १ जनामा अटीजम भएका बालबालिका जन्मिने गरेका छन् । त्यसमध्ये हरेक चारमा तीन जना बालक र एक जना बालिकामा अटीजम हुने गरेको तथ्याङ्क रहेको अटीजम केयर गण्डकीका अध्यक्ष मुकुन्द उपाध्यायले जानकारी दिनुभयो ।