पोखरामा वडाध्यक्षलेनै कुटे व्यवसायी

हिमाली आवाज । पोखरा महानगरपालिकाका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सोही वडाको गैहपाटनको सर्वेश्वर मार्गका एक व्यवसायीलाई हातपात गरेका छन् ।

पराजुलीले आज अपराह्न सर्वेश्वर मार्गमा सुवेदी कस्मेटिक पसल सञ्चालन गर्दै आएका व्यवसायी लेखनाथ सुवेदीलाई कुटपीट गरेका हुन् । महानगर प्रहरीलाई लिएर फुटपाथको सामान उठाउन गएका वडाध्यक्ष पराजुलीले आफूलाई कुटपीट गरेको सुवेदीले बताए ।

वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै व्यवसायी सुवेदीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन् । उजुरी दर्ता भने भएको छैन ।

सर्वेश्वर व्यवसायी समितिले व्यवसायीलाई कुटपीट गर्ने वडाध्यक्ष पराजुलीलाई कारवाही गर्न माग गर्दै वडा कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । मादक पदार्थ सेवन गरेर व्यवसायी कुट्ने वडाध्यक्ष पराजुलीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउन व्यवसायीको माग छ ।

कुटपिटको आरोप लागेका वडाध्यक्ष पराजुलीले भने आफूले कुटपिट नगरेको दावी गरेका छन् । आफूमाथि व्यवसायी आइलागेपछि प्रतिकार मात्र गरेको पराजुलीको भनाई छ ।

Comments
Loading...