मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…

हिमाली आवाज । कास्की जिल्लाको मादी गाउँपालिका–१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन् ।
सोही वडाको लिपेयानीस्थित नारायण प्रसाद बरालले सञ्चालन गर्नुभएको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन साताका अवधिमा निमोनियाका कारण मरेका हुन् ।

रोगका कारण ठूलो पशुधनको क्षति भएपछि सञ्चालक बराल चिन्तित हुनुहुन्छ । बरालले पछिल्लो २० दिनका अवधिमा अधिकाँस बाख्रा मरेर खोर रित्तै भएको र अहिले तीन वटामात्र बाँकी रहेको जानकारी दिनुभयो । बाख्रामा सुरुआतमा घाँस, दाना, पानी नखाने, सिँगान बगाउने लगायतका लक्षण देखा परेको बताइन्छ ।

सुरुआतमा गत पुसमा केही बाख्रा बिरामी भएपछि औषधी गरेर निको भएपनि अहिले पछिल्लो दुई देखी तीन सातामा सबै बाख्रा मरेको बरालले बताउनुभयो ।

“सुरुमा पुस अन्तिम तिर केही बाख्राले नाकबाट सिँगान बगाउने, घाँसपानी नखाने ,झोक्राउने भएपछि गाउँपालिकाका पशु प्राविधिकलाई बोलाएर उपचार गरेपछि ठीक भएको थियो । ” बरालले भन्नुभयो,“तर अहिले पुनः पहिलाकै समस्या देखियो र २० दिनका अवधिमा सबै बाख्रा मरे, मलाई ठूलो क्षति भयो ।”

बरालले बाख्रा मर्न थालेपछि प्राविधिकलाई बोलाएर उपचार गर्दा समेत कम नभएको बताउनुभयो । पशु प्राविधिकले रोग पत्ता लगाउनका का लागि ल्याबमा परीक्षण गर्दा क्रोनिक निमोनिया पुष्टि भएको थियो ।

थप क्षति हुन नदिनका लागि इन्जेक्सन लगाएको भएपनि काम नगरेको बरालले बताउनुभयो । बरालले रोगका कारण ठूलो संख्यामा बाख्रा मरेपछि अनुमानित रु डेढ करोड क्षति पुगेको उल्लेख गर्नुभयो । बरालले केही बाख्रोको बिमा गरेपनि तीन महिनाभन्दा साना पाठापाडीको नभएको जानकारी दिनुभयो ।

पेशाले शिक्षक रहनुभएका बरालले विसं २०७४ देखी व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय गर्दै आउनुभएको थियो । बाख्रासँगै उहाँले कुखुरापालन गर्नुभएको छ । बरालले गत वर्ष बाख्रापालनबाट रु ३८ लाखको आम्दानी गर्नुभएकामा यस वर्ष रु ५० लाखको बिक्री गर्ने योजना बनाउनुभएको थियो ।
“सानो उमेरदेखीनै कृषि गर्ने चाहनाले बाख्रा र कुखुरा पाल्न सुरु गरेँ । अहिले एकाएक सबै सकियो, ठूलो क्षति हुँदा धेरै पीडा भएको छ ।” बरालले भन्नुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले मरेका पशुको प्रयोगशालामा ल्याएर थप परीक्षण भइरहेको जानकारी दिनुभयो ।

हालसम्म निमोनियाका कारणले क्षति पुगेको भएपनि अन्य कारण समेत खोजी भइरहेको पाण्डेले बताउनुभयो । “विज्ञ केन्द्रमा समेत ढिला गरी जानकारी आएको थियो । त्यसपछि हामीले रोग नियन्त्रणका लागि केन्द्रबाट र प्रयोगशालाबाट समेत पशु चिकित्सकलाई पठाएर परीक्षण गरेका हौँ । धेरै ढिला भएकाले उपलब्धी भएन ।”

सोही वडाका वडाध्यक्ष कृष्णराज दाहालले बरालले पालिकाकै नमूनामा रुपमा सञ्चालन गरेको बाख्रा फार्ममा भएको क्षतिले आफूहरुलाई समेत दुखित बनाएको बताउनुभयो । पीडित कृषकलाई राहतका लागि पालिका, प्रदेश सरकार लगायतसँग पहल गरिने दाहालले बताउनुभयो ।

Comments
Loading...