हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरा पढ्दै आउनुभएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा नौको वार्षिक परीक्षा सकिएको थियो ।
पोखरा–२५ मिलनचोक बसेर सोनिसा सिमपानीमा रहेको स्पाइरल ग्यालेक्सी अध्ययन गर्नुहुन्छ । परीक्षा सकिएकाले आमा सुशिला, बुबा प्रकाश र २२ महिनाको भाई सुप्रिमसँगै उहाँहरु घर सल्यान जाँदै हुनुहुन्थ्यो ।
वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केहीदिनअघि मात्र आउनुभएकाले परिवारमा छुट्टै रमाईलो थियो । बिदाको समय घर र मामाघरमा बसेर बिताउने र रमाइलो गर्ने योजना थियो । तर सोनियाको त्यो योजना पूरा हुन सकेन ।
घर जानका लागि उहाँहरु चढेको ग१ज ५५४७ नम्बरको जीप आइतबार दिउसो अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा सडकबाट दुई सय ५० मिटर तल खसेर दुर्घटना भयो ।दुर्घटनापछि उहाँहरु चारै जना अहिले मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहनुभएको छ ।

पोखराको हरिचोक सल्यान रुटमा चल्ने जीप दुर्घटनामा दुई जनाले ज्यान गुमाए । घटनामा १० जना घाइते छन् । दुर्घटनामा घाइते सोनिसाको हात, खुट्टामा चोट छ । भने परिवारका अन्यको अवस्था मध्यम छ ।
सोनिसा जीपको अघिल्लो सिटमा हुनुुहुन्थ्यो । ग्रामीण सडक भएपनि जीपको गति तीव्रनै थियो । सल्लाघारीको डाँडाको ओरालो घुम्तीमा पुगेपछि विपरित दिशाबाट एउटा मोटरसाइकल आयो । मोटरसाइकल पनि तीव्र गतिमै थियो । घुम्तीमा मोटरसाइकलाई जोगाउन खोज्दा जीप चालकले जीप नियन्त्रण गर्न सकेनन् र भीरतिर खसेको सोनिसाले बताउनुभयो ।
“जीप तीव्र गतिमा ओरालोमा थियो, उताबाट मोटरसाइकल आयो । त्यसबेला दाईले(चालक)ले टर्निङ काट्न सक्नु भएन, भिरबाट जीप तल खसी हाल्यो ।” सोनिसाले भन्नुभयो ।
घुम्तीमा दायाँ मोडिनुपर्ने जीप बायाँ मोडिएर भीरबाट तल खसेको थियो । दुर्घटनापछि स्थानीयले उद्धार गरी अस्पताल ल्याएको सोनिसाको भनाई छ ।“दुर्घटनापछि पनि म पूरै होसमा थिएँ । हामीलाई गाउँका दाईहरुले उद्धार गरी अस्पतालमा ल्याउनु भएको हो ।” उहाँले भन्नुभयो ।
सो जीप दुर्घटनामा पोखरा–२३ कार्कीतगरा बस्ने ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको थियो ।
घटनामा पोखरा–२३ का ६० वर्षीय रामप्रसाद सुनार, अन्नपूर्ण गाउँपालिका–४ का ५० वर्षीया देउमाया केसी, सोही ठाउँका २२ वर्षीय धनराज सुनार, पोखरा–२३ का ५८ वर्षीय लक्ष्मण कामी, सल्यानका सात वर्षीय आरुष विक र ४१ वर्षीय राजकुमार विक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते मध्ये छ जनाको मणिपाल र अन्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।