कालीगण्डकी करिडोरका होटल व्यवसायीलाई गैँडाकोटमा तालिम दिन सुरु

हिमाली आवाज । कालीगण्डकी करिडोर क्षेत्रका होटल व्यवसायी र मजुदरहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा आजदेखी तालिम दिन सुरु गरिएको छ ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले यही चैत २४ र २५ गते दुई दिन स्वच्छता र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा तालिम सुरु गरेको हो । सो तालिम कार्यक्रमको एक कार्यक्रमकाबीच गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले गैँडाकोट क्षेत्रको पर्यटन विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,“गैँडाकोट धार्मिक तथा अन्य पर्यटकीय प्रचुर सम्भावना बोकेको ठाउँ हो ,त्यसैले यस क्षेत्रको प्रवद्र्धनका लागि आगमी वर्षको बजेट कार्यक्रममा आवश्यक बजेट विनियोजन गर्नेछौँ ।”

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत कुन्दन मिश्रले तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले यस वर्षको तालिमको उपलब्धीका अनुसार आगामी वर्ष समेत निरन्तरता दिइने बताउनुभयो । “तालिममा सिकेका कुरा व्यवहारमा लागू भए नभएको बारेमा अनुगमन गर्नेछौँ ।तालिमले सेवा प्रवाहमा सुधार आएको खण्डमा अर्को वर्ष निरन्तरता दिन्छौँ ।” मिश्रले भन्नुभयो ।

तालिमका प्रमुख प्रशिक्षक नेपाल टुुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्राचार्य प्रकाश रेग्मीले पर्यटकमैत्री व्यवहारबाट विश्वमा नेपालको बारेमा सकारात्मक सन्देश जाने बताउनुभयो ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले तालिमले होटल तथा पर्यटन व्यवसायलाई सभ्य र मर्यादिन बनाउन सहयोग पुग्ने बताउनुभयो ।

तालिममा करिडोर अन्तर्गत गैँडाकोट, बुलिङटार, बौदीकालीका गाउँपालिका लगायत नवलपुर जिल्लाभरिका होटल तथा पर्यटन व्यवसायीहरु र कामदारहरु समेत गरी ७० जनाको सहभागिता रहेको छ । अध्यक्ष चोखालले भन्नुभयो,“ सेवा व्यवसायलाई गुणस्तरीय बनाउन तालिमले सहयोग पुग्ने विश्वास लिएका छौँ । ”

पोखरा गण्डकी प्रदेशको राजधानी सहर घोषणा भइसकेको सन्दर्भमा पर्यटन क्षेत्रलाई थप पर्यटकमैत्री बनाउने र यस क्षेत्रमा कार्यरत जनशक्तिलाई खाद्य स्वच्छताका बारेमा जानकारी गराउने उद्धेश्यले तालिम आयोजना गरिएको चोखालको भनाई छ ।

दुई दिनको तालिममा सहभागीहरुलाई खाद्य स्वच्छता, सरसफाई र पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध, व्यवसायको प्रचारप्रसार र प्रवद्र्धन, स्थानीय उत्पादनको व्यावसायिकरण लगायतका विषयहरुमा सिकाइने महासंघका महासचिव देवेन्द्र लम्सालले जानकारी दिनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख ज्योति आचार्यले खाद्य स्वच्छता पर्यटन तथा होटल क्षेत्रमा सबैभन्दा बढी महत्वपूर्ण रहेको बताउनुभयो ।

तालिमको सहआयोजक संस्था मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष देवीप्रसाद पौडेलले प्रचुर सम्भावना बोकेको कालीगण्डकी करिडोरको पर्यटनका बारेमा स्थानीय सरकार, पर्यटन बोर्ड लगायतका संघ संस्थाले ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाल पर्यटज बोर्ड गण्डकीले यस्ता खालका तालिमहरु कालीगण्डकी करिडोरको नवलपुर र म्याग्दी तथा मस्र्याङदी करिडोरको दमौली र मनाङमा गर्न लागिएको जनाएको छ ।

Comments
Loading...