पिण्डदान र दर्शनका लागि मुक्तिनाथमा तीर्थयात्रीको घुइँचो

हिमाली आवाज । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा सोमबार भक्तजनको घुइँचो लागेको छ ।

कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो ।

कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनबिर किसानले दिवङ्गत आफन्तको स्मरणमा पिण्डदान र तर्पण गर्नेहरुको बिहान ५ बजेदेखिनै कालीगण्डकी किनारमा घुइँचो लागेको जानकारी दिनुभयो ।

“चैतेदसैँअघिको औँसी तिथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृले मोक्ष पाउने धार्मिक विश्वास रहेको छ”, उहाँले भन्नुभयो,“नेपालका सबैजसो जिल्लाका साथै भारतबाट आएका हजारौँ भक्तजनले एकै दिन कागबेनीमा पिण्डदान गरेका छन् ।”

कागबेनीमा पिण्डदान गरेपछि भक्तजन समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइको मुक्तिनाथ मन्दिरको दर्शन र पूजाआजा गर्न पुग्दछन् ।

Comments
Loading...