हिमाली आवाज । पोखरामा आज दोस्रो जनजनआन्दोलन २०६२÷६३ का प्रथम शहिद भीमसेन दाहालको १९ औँ स्मृतिका अवसरमा दीप प्रज्वलन गरिएको छ ।
जनआन्दोलनका शहीद परिवार तथा घाइते समन्वय समिति कास्कीले साँझ महेन्द्रपुलस्थित दाहाल शहीद भएकै स्थानमा दीप प्रज्वलन गरिएको हो । सो अवसरमा शहीद दाहालको स्मरणमा १९ वटा मैनवत्ती बालिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले शहीदहरुले देखेको सपना पूरा गर्नतर्फ अहिलेका राजनीतिक दलहरु केन्द्रीत नभएकामा दुःख व्यक्त गरे ।
शहीदपत्नी सविता दाहालले शहीद परिवारलाई राज्यले उचित सम्बोधन नगरेको गुनासो गर्नुभयो । पछिल्लो समय राजनीतिक दल, नागरिक समाज लगायतका संघ संस्थाहरुले शहीदलाई विर्सदै गएकामा परिवार दुःखित भएको दाहालले बताउनुभयो ।“सबैले वेवास्ता गर्दा कहिलेकाँही शहीद परिवार भन्न पनि ग्लानी लाग्न थालिसक्यो ।” शहीदपत्नी सविताले भन्नुभयो ।

नागरिक समाजका अगुवा विष्णु बरालले अहिलेको राजनीतिक परिवर्तन शहीदहरुको बलिदानीबाट सम्भव भएको भन्दै शहीदको सपनालाई साकार पार्नुपर्ने बताउनुभयो ।
जनआन्दोलनका घाइते शेखर गौतमले नागरिकहरु जे सोचेर जनआन्दोलनमा होमिए त्यस अनुसारको काम अझै पनि हुन नसकेको भन्दै राजनीतिक दल एवं जनप्रतिनिधिहरुलाई जिम्मेवार बनेर शहीदका सपना पूरा गर्न आग्रह गर्नुभयो ।
उहाँले आफ्नै आँखा अगाडि सेनाले गोली हानी ढलाएको त्यो क्षणले आज पनि भावविह्वल बनाएको गरेको गौतमको भनाई छ । दोस्रो जनआन्दोलनका क्रममा विसं २०६२ चैत २६ गते पोखराको महेन्द्रपुलमा सेनाको गोली लागेर दाहालको मृत्यु भएको थियो ।