हिमाली आवाज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भोली चैत २९ गते सार्वजनिक बिदाको दिनमा समेत खुला हुने भएको छ ।
अस्पतालले आकस्मिक रुपमा घोषणा भएका सार्वजनिक विदाका दिनमा सेवा सुचारु गर्ने अस्पतालका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारबाट पूर्व प्रकाशित सार्वजनिक बिदाहरु बाहेक, आकस्मिक बिदामा पूर्व निधारित अपरेशन, एम आर आई, सिटी स्क्यान लगायत महत्वपूर्ण नियमित सेवाहरु सुचारु हुनेछन् ।

“आकस्मिक विदा घोषणा हुँदा अपरेशन गर्नुपर्ने मिति लामो समयदेखी कुरेर बसेका सेवाग्राही प्रभावित हुने भएकाले महत्वपूर्ण नियमित सेवाहरु सञ्चालन हुनेछ ।”भट्राईले भन्नुभयो ।
पूर्वनिर्धारित बाहेकका विदाका कारण उपचार सेवा प्रभावित हुन नदिनका लागि प्रष्ठिानको विसं २०७९ फागुन १५ गतेको निर्णयअनुसार विदामा सेवा सञ्चालनमा ल्याइएको हो । सरकारले भोली इदुलफित्र पर्व परेकाले देशभर सार्वजनिक बिदा दिएको छ ।