पोखरामा नयाँ वर्षको भव्य स्वागत

हिमाली आवाज । देशको पर्यटकीय राजधानी सहर पोखरामा नेपाली नयाँ वर्षको भव्य स्वागत गरिएको छ । यहाँस्थित प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट शुक्रबार मध्यरातमा नयाँवर्षको भव्य स्वागत गरिएको हो ।

नयाँवर्ष विसं २०८१ को स्वागत तथा विसं २०८० को बिदाईका लागि लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकको ठूलो भीड लागेको थियो । आतशबाजी सहित विभिन्न सांस्कृतिक कार्यक्रम गरेर सडकबाटै नयाँवर्षलाई स्वागत गरिएको थियो ।

होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष मनाउनका लागि लेकसाइडको साढे तीन किमी सडकमा नव वर्ष महोत्सव आयोजना गरेको थियो । महोत्सवमा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटकले नयाँवर्षलाई भव्य स्वागत गरे ।

नयाँवर्षको स्वागतका लागि राति अवेरसम्म पर्यटक लेकसाइडमा भरिभराउ थिए । नयाँवर्ष मनाउनका लागि पोखरामा केहीदिन देखीनै पर्यटकको बाक्लो चहलपहल बढेको थियो ।

यही चैत २९ गतेदेखी सुरु नव वर्ष महोत्सव आज सकिदै छ । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फेवाताल किनारबाट नेपाली नयाँवर्षको भव्य स्वागत गरिएको बताउनुभयो । नेपाली नयाँवर्षलाई धुमधामका साथ मनाउने उद्धेश्यले आयोजित महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएको उहाँले बताउनुभयो ।

अध्यक्ष सुवेदीले भन्नुभयो,“देशको पर्यटकीय राजधानी सहर पोखरामा भव्य रुपमा नयाँवर्षको स्वागत गरेका छौँ । हजारौँ स्वदेशी तथा विदेशी पर्यटकले नयाँवर्षको खुशी साट्नुभएको छ । नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य पोखरा बनेको छ । ”

नयाँवर्ष तथा विभिन्न विदाका कारण पनि पोखरा घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धि भएको र भारतीय पर्यटकको आगमन पनि बढेकाले नयाँ वर्षमा पर्यटन व्यवसायमा चहलपहल बढेको अध्यक्ष सुवेदीले बताउनुभयो । पोखरामा तेस्रो मुलुकका पर्यटक पनि उल्लेख्य बढेका छन् । नववर्ष महोत्सवकै कारण समेत पर्यटक आगमन बढेको बताइन्छ ।

नेपाली नयाँवर्षलाई उत्लासमय बनाउँदै पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव गरिएको हो । महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन,सांस्कृतिक झाँकीका कार्यक्रम,लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्गय प्रहसन र पर्यटक दौड प्रतियोगिता लगायत रहेका छन् ।

Comments
Loading...