पर्यटक प्रहरीलाई पोखरामा पर्यटन बोर्डले दियो विद्युतीय साइकल

हिमाली आवाज । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले पर्यटक प्रहरी कार्यालय पोखरालाई आइतबार दुई थान विद्युतीय साइकल हस्तान्तरण गरेको छ ।

पर्यटकीय राजधानी पोखरा घोषणा सँगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी तथा चूनौतीलाई मध्यनजर गरी स्रोत साधनको अभावमा हुने नदिन सो सहयोग प्रदान गरिएको पर्यटन बोर्डका निमित्त प्रमुख नविन पोखरेलले बताउनुभयो ।पर्यटन बोर्डले चालू आर्थिक वर्षमा पर्यटक प्रहरीलाई सहयोगका लागि बजेट व्यवस्था गरेको थियो ।

प्रमुख पोखरेलले भन्नुभयो,“पोखरा र आसपासका क्षेत्रमा सुरक्षित पर्यटकीय वातावरण सिर्जना गर्नको लागि साइकल सहयोग गरेका हौँ । यसबाट पर्यटक प्रहरीलाई आफ्नो दैनिक कार्य सञ्चालनमा सहजता हुनेछ ।”

साइकल हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले पोखरामा स्वदेशी तथा विदेशी पर्यटकहरुको बढी आवतजावत हुने स्थानहरुमा गस्तीका लागि साइकलबाट सहयोग पुग्ने बताउनुभयो ।

उहाँले सुरक्षित पर्यटकीय वातावरणको महशुस हुने गरी कार्य गर्न प्रहरीमा अझ वढी उत्प्रेरणा र कार्य वातावरण बनेको बताउनुभयो ।

Comments
Loading...