प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकाल स्थगन

हिमाली आवाज । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ ।

सभाको आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वान सम्बन्धी पत्र सभामा सुनाएर बैठक स्थगन गरिएको हो । प्रतिपक्षी बेञ्च खाली भएपछि सभामुख कृष्णप्रसाद धितालले ६ मिनेटमै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गर्नुभएको हो ।

बैठकमा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची थियो ।

नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सभा सदस्यहरु बैठकमा उपस्थित नभएपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन भएको सभामुखले सभामा जानकारी गराउनुभयो ।

यसअघि काङ्ग्रेस संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकारका विषयमा सर्वोच्च अदालतले सरकारलाई नियमित कार्य सञ्चालन बाहेक अन्य दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न आदेश भएकामा सरकारले अधिवेशन बोलाउनु गैरकानूनी भएकाले प्रदेशसभा बैठक वहिष्कारको निर्णय गरेको थियो । काङ्गेसले सरकार गठन र प्रदेशसभा बैठक आह्वान गरिनु असंवैधानिक भन्दै सभामुखलाई पत्र बुझाएको थियो ।

काङ्ग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको वेवास्ता गर्दै बोलाइएको प्रदेश सभा बैठक र अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदा सम्म आह्वान गरिने प्रदेश सभाको कुनैपनि बैठकमा आफ्नो दलका सदस्यहरु सहभागी नहुने बताउनुभयो ।

“सर्वोच्च अदालतमा बिचाराधीन मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभाको बैठक सञ्चालन गर्नु संवैधानिक दृष्टिले त्रुटिपूर्ण र संसदीय मर्यादा एवं परम्परा विपरितसमेत हुने भएकाले प्रदेश सभा बैठक सञ्चालन नगर्न÷नगराउन अनुरोध गरेका हौँ ।” न्यौपानेले भन्नुभयो ।

Comments
Loading...