पर्यटकको रोजाइमा पर्यो घोडेपानी

हिमाली आवाज ।  विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।

विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ ।

गत वर्ष २५ हजार दुई सय ७९ जना पर्यटक भित्रिएका र छ हजार एक सय ६० जना घोडेपानी हँुदै अन्यत्र गएका घोडेपानी प्रहरी चौकीका वरिष्ठ हवल्दार टेकबहादुर सुनारी मगरले बताउनुभयो । सबैभन्दा बढी चैत महिनामा पाँच हजार आठ सय ४९ जना पर्यटक घोडेपानी आएका छन् ।

वैशाखमा चार हजार चार सय १४, जेठमा एक हजार दुई सय ८१, असारमा चार सय ४१, साउनमा नौ सय ४७, भदौमा नौ सय ७२, असोजमा चार हजार दुई सय ९८ र कात्तिकमा चार हजार तीन सय ५७ जना पर्यटक आएका छन् । कात्तिकमा चार हजार तीन सय ५७, मङ्सिरमा तीन हजार एक सय ९९, पुसमा एक हजार छ सय २७, माघमा एक हजार पाँच सय ७७ र फागुनमा दुई हजार चार सय ७७ जना पर्यटक आएका थिए ।

विसं २०७९ मा २६ हजार तीन सय एक जना पर्यटकले घोडेपानी घुमेका थिए । घोडेपानी टोल सुधार समितिका उपाध्यक्षसमेत रहेकी होटल व्यवसायी जुलीठकुरी पुनले कोरोनाअघिकै लयमा फर्कन नसके पनि पर्यटक आगमन सुधार हुन थालेकाले आशा जागेको बताउनुभयो ।

“अनुकूल मौसम र बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकले यहाँको होटल व्यवसाय धानिएको छ ।” कोरोनाअघि वार्षिक ६० देखि ७० हजार जना पर्यटक घोडेपानी आउने गरेका थिए ।

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् । घोडेपानीमा साना ठूला गरी २७ होटल छन् । ती होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्छन् ।

Comments
Loading...