गण्डकीमा पूँजीगत बजेट खर्चमा सुधार गछौँ:नवनियुक्त अर्थमन्त्री चुमान

हिमाली आवाज । गण्डकी प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमानले आज मन्त्रालयमा पदबहाली गर्नुभएको छ ।

पोखरा–७ शहीदचोकस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभयो । गत चैत २५ गते मन्त्री नियुक्त हुनुभएका चुमानको शनिबार मन्त्रालय तोकिएको थियो । उहाँ नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशसभा दलको नेता हुनुहुन्छ ।

सो अवसरमा मन्त्री चुमानले प्रदेश सरकारको पूँजीगत बजेट खर्च बढाउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले आफ्नो प्राथमिकता पूँजीगत खर्च वृद्धि गर्ने रहेको उल्लेख गर्नुभयो ।

मन्त्री चुमानले भन्नुभयो,“विगत देखि नै प्रदेश सरकारले पूँचीगत खर्च वृद्धि गर्ने कुरा गर्दे आएको छ । तर हुन सकेको छैन । यो पटक कार्यान्वयन गर्न लागि पर्नेछौँ, बजेट खर्च गर्ने परिपाटीमा पनि आगामी आर्थिक वर्षमा सुधार गरेर लैजान्छौँ। ”

सरकारले प्रदेशको नीतिगत समस्या समाधान,औधोगिक पूर्वाधार विकास, राजश्वको दायरा फराकिलो पार्ने लगायतमा जोड दिएर समृद्ध प्रदेश निर्माणका लागि काम गर्ने बताउनुभयो ।

आर्थिक मामिलामन्त्री चुमानले आगामी वर्ष गण्डकीमा लगानी सम्मेलन आयोजना गर्नका लागि ‘इन्भेष्ट गण्डकी’ परियोजना सञ्चालनमा ल्याउने पहिलो निर्णय गर्नुभएको छ ।

सार्वजनिक–निजी– साझेदारी तथा निजी लगानीमा कार्यान्वयन गर्ने आयोजनाहरुको अध्ययन गरी आगामी वर्ष लगानी सम्मेलन गरी ‘इन्भेष्ट गण्डकी’ परियोजना सञ्चालनको निर्णय गरिएको हो ।
आर्थिक मामिला मन्त्रालयका सचिवको नेतृत्वमा रहने ‘इन्भेष्ट गण्डकी’ परियोजना अध्ययन कार्यदलले पर्यटन, कृषि, औद्योगिक पूर्वाधार र जलविद्युतका क्षेत्रमा लगानी आकर्षणका लागि परियोजनाहरुको अवधारणा तयार पार्नेछ । कार्यक्रममा मन्त्रालयका सचिव बलराम रिजालले मन्त्री चुमानलाई मन्त्रालयको बारेमा जानकारी गराउनुभएको थियो ।

आर्थिक मामिलामन्त्री चुमानको पदवहाली कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्रीकान्त शर्मा खतिवडा, सदस्य डा सुवास अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Comments
Loading...