कास्कीको माछापुच्छ्रे माविलाई भारतीय दुतावासबाट स्कुल बस हस्तान्तरण (फोटो फिचर)

हिमाली आवाज । भारतीय दुतावासले कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा अवस्थित एक सामुदायिक विद्यालयलाई आज स्कुल बस हस्तान्तरण गरेको छ ।

नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दुतावासले माछापुच्छ«े–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ«े माध्यमिक विद्यालयलाइ आज बस उपहारस्वरुप प्रदान गरेको हो । नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमित शर्माले विद्यालयमा आयोजित एक समारोहका बीच बसको शुभारम्भ गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले सात सय भन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयमा सार्वजनिक यातायात नियमित नहुँदा विद्यालय आउजाउ गर्न विद्यार्थीले भोग्नु परेको कठिनाइ अब समाधान भएको बताउनुभयो । विद्यालयको आवश्यकता बुझेर बस सहयोग गरेकामा उहाँले दुतावासप्रति आभार व्यक्त गर्नुभयो ।

प्रधानाध्यापक आचार्यले भराभरी, करुवा, मिर्सा, धिप्राङ लगायतका टाढाका गाउँबाट पैदल विद्यालय आउन दुई घण्टा बढी समय लाग्ने गरेकाले ती ठाउँहरुमा बस सेवा सञ्चालन गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“यहाँ चल्ने बसहरु नियमित नहुँदा विद्यार्थीको कक्षा छुट्ने गरेको थियो । दुई घण्टा हिँडेर स्कुल आउनुपर्ने बाध्यता अब हट्ने छ । हामीलाई आफ्नै बस भएपछि विभिन्न कार्यक्रमहरुमा विद्यार्थी लैजान समेत सहज हुनेछ ।”

सो अवसरमा भारतीय रक्षा सहचारी शर्माले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताउँदै आगामी दिनमा समेत सहयोगको प्रतिवद्धता जनाउनुभयो ।

स्कुल बस सहयोगले दुई देशबीचको सम्वन्ध थप बलियो बनाउन मद्धत पुग्ने उहाँको भनाई छ । आफ्नो लागि अर्को मातृभूमि र पावन भूमि नेपाल रहेको बताउँदै नेपालमा सहयोग गर्न पाउँदा खुशी लागेको शर्माले उल्लेख गर्नुभयो ।

गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले भारतीय सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले माछापुच्छ«े गाउँपालिकाका अन्य विद्यालयहरुमा समेत सहयोगका लागि आग्रह गर्नुभयो ।

वडाध्यक्ष गणेश आचार्यले स्कुल बस सुविधाबाट सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बमबहादुर गुरुङले दुतावासबाट बस प्राप्त गर्नका लागि लामो समयदेखी गरेको प्रयास अहिले सफल भएको बताउनुभयो ।

“स्कुल बसका लागि हामीले चार वर्षदेखी पहल गरेका थियौँ । यहाँका भूपू भारतीय सेनाहरुबाट समेत थप पहल भयो र अहिले ल्याउन सफल भएका छौँ । यसले विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” गुरुङले भन्नुभयो ।

Comments
Loading...