एनटिभिएद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण

हिमाली आवाज।  नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् टेबुल क्यालेन्डर लोकार्पण गरेको छ ।
लेकसाइडस्थित होटेल एलेगेन्टमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दहाल, पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङ, कार्यक्रम संयोजक सुमन कुँवर, एसआरएम कम्पनीका सञ्चालक ओम उपाध्याय लगायतले क्यालेन्डर लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकलाई सुविधासम्पन्न यायातात सेवा दिनु जरुरी रहेको बताउँदै पर्यटक यातायातका माध्यमबाट एनटिभिएले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुुभयो ।
पर्यटक यातायात सञ्चालनका क्रममा आउने हरेक जोखिमीको व्ययभार विमा कम्पनीले नै जिम्मा लिने गरी नेपाल सरकारले नियम बनाएर व्यवसायिक सुरक्षाको प्रत्याभुति गराउनु आवश्यक भएको उहाँको भनाइ छ । व्यवसायिक सुरक्षाका लागि भलाईकोषको स्थापना गरि अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुुभयो । इम्बोष्ड नम्बरका नाममा हरियो प्लेटको पहिचान हराउन नहुने भन्दै उहाँले यसका लागि निरन्तर पहल भैरहेको बताउनुुभयो ।
एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुर्गादत्त दहालले पर्यटन यातायात सञ्चालन गरिहेको व्यवसायीलाई संगठित गर्दै एनटिभिए बढीरहेको बताउनुुभयो । दररेट समेत राखेर संस्थाले टेबुल क्यालेन्डर प्रकाशन गरेको बताउँदै उहाँले यसले व्यवसायिक रुपमा पनि सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
एनटिभिए गण्डकी प्रदेशका पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङले निजी र पर्यटक सवारी साधनको आयु २० वर्ष तोकिनु खेदप्रद भएको बताउँदै यी सवारी साधनको आयु तोक्नु गलत भएको बताउनुुभयो । सवारी दुर्घटना, घाइते, मृतक, सवारी मर्मत सबै जिम्मा विमा कम्पनीले लिनुपर्ने गरी सरकारसँग लबिङ हुनुपर्नेमा उहाँले जोड दिनुुभयो ।
एसआरएम कम्पनीका सञ्चालक ओम उपाध्यायले पर्यावरण जोगाउनका लागि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको धारणा राख्नुभयो । लेकसाइड क्षेत्रमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन राख्न ठाउँ उपलब्ध गराउने कुरामा सम्बद्ध सबैको सहयोग आवश्यक भएको उहाँको भनाइ छ ।
एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुर्गादत्त दहालको अध्यक्षता एवम् महासचिव विकास कंडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रविप्रसाद आचार्यले गर्नुभएको थियो । कार्यक्रममा एनटिभिए सम्बद्ध व्यवसायी, पर्यटन सम्बद्ध संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

Comments
Loading...