माछापुच्छ्रे मावि व्यवस्थापन समिति अध्यक्षमा पुनः बमबहादुर

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बमबहादुर गुरुङ चयन हुनुभएको छ ।

विद्यालयमा आज सम्पन्न भेलाले व्यवसायी एवं समाजसेवी गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको हो । यसैगरी विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा सुमन श्रेष्ठ, माधव आचार्य, सुनिता सेवा, इनबहादुर तामाङ, टेकराज आचार्य, अनिल गुरुङ, समिति सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्य र शिक्षक प्रतिनिधिमा सुशीला गुरुङ रहनुभएको छ । विद्यालयको संरक्षकमा वडाध्यक्ष गणेश आचार्य रहनुभएको छ ।

नवगठित व्यवस्थापन समितिका अध्यक्ष गुरुङले विद्यालयलाई जिल्लाकै नमूना बनाउने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँ यसअघि विसं २०७७ माघ १४ गते पहिलोपटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुनुभएको थियो । अध्यक्ष गुरुङकै पहलमा विद्यालयलाई भारतीय दूतावासबाट हालै बस प्राप्त भएको थियो ।

“विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार विकासमा थप मिहिनेत गरेर काम गर्नेछु । विद्यालयलाई सक्षम र सुविधासम्पन्न बनाउँदै नमूना विद्यालय बनाउने मेरो प्रयास हुनेछ ।” गुरुङले भन्नुभयो ।

वडाध्यक्ष आचार्यले नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङको दोस्रो कार्यकालमा विद्यालयले शैक्षिक क्षेत्रमा थप प्रगति र उत्कृष्टता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

Comments
Loading...