पोखरामा शनिबारदेखी ट्रायथोलनको एशिया कप,तयारी पूरा

हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा भोलीदेखी चौथो संस्करणको एशियाकप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिप सुरु हुँदैछ ।

नेपाल ट्रायथोलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन सङ्घको व्यवस्थापनमा पोखराको लेकसाइड क्षेत्रमा च्याम्पियनसिप हुनेछ ।
एशिया कप तथा साउथ एशियन च्याम्पियसिपको सम्पूर्ण तयारी पूरा भएको आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
च्याम्पियनसिपमा विभिन्न १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता वैशाख १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपाल सहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, बङ्गलादेश र उज्वेकिस्तानका खेलाडीले सहभागिता जनाउने प्रतियोगिताका व्यवस्थापन समितिका संयोजक डिल्लीराज सुवेदी(शिशिर)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिताका लागि सहभागी खेलाडी तथा टेक्निकल डेलिगेट्स तथा अफिसियलहरु पोखरामा आइपुग्नु भएको छ । शनिबार विहान ७ बजेदेखी च्याम्पियनसिप सुरु हुनेछ ।
सुवेदीका अनुसार ट्रायथोलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड हुनेछ ।
पौडी फेवातालमा हुनेछ । दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुने गरी रुट तय गरिएको छ । सो दिन रुट क्षेत्रमा सम्पूर्ण यातायातका सवारी साधन बन्द हुनेछन् र सडक पूरै खाली हुनेछ ।
यस वर्ष च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य समेत रहनुभका वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासडो र महासचिव एन्टोनियो आरामानी सहभागी हुनुहुनेछ । उहाँहरुको उपस्थितिले प्रतियोगिताको गरीमा र महत्वलाई झनै बढाएको छ ।

विशिष्ट पाहुनाहरुको आगमनले नेपालको खेलकुद क्षेत्रका लागि ठूलो महत्व रहने नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिनुभयो । अध्यक्ष मारिसोल कासडोको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उहाँ १० वर्षअघि नेपाल आउनुभएको थियो ।
च्याम्पियनसिपमा टेक्निकल डेलिगेट्स, एसिस्टेन्ट टेक्निकल डेलिगेट्स, स्वयंसेवक गरी ६० जना भन्दा बढी सहभागी हुनुहुने बताइन्छ । । प्रतियोगितामा पाँचौ स्थानसम्मका विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको चार हजार दुई सय अमेरिकी डलर नगद पुरस्कार रहेको छ ।

“ट्रायथोलन खेल पोखराको एउटा ब्राण्ड बनिसकेको छ । प्रतियोगिताले पोखराको अन्तर्राष्ट्रिय क्षेत्रमा थप प्रवद्र्धन तथा खेलकुद विकासमा मद्धत पुग्नेछ ।” उपाध्यक्ष देवकोटाले भन्नुभयो ।

ट्रायथोलन पछिल्लो समय रुचाइएको खेलकुद विधा हो । सन् २००० देखी ओलम्पिकमा समावेश भएसँगै विश्वव्यापी रुपमा यस खेलको लोकप्रियता बढेको हो ।

नेपाल ट्रायथोलन एशोसिएसन(एनटिए)ले पनि सन् २०११ देखी नेपालमा ट्रायथोलन खेलको विकास र विस्तारका लागि काम गर्दै आएको छ । नेपाल ट्रायथोलन एशोसिएसन(एनटिए) विश्व ट्रायथोलन र एशिया ट्रायथोलनसँग आवद्ध छ ।

नेपालमा १० औँ संस्करणसम्म दक्षिण एशियाली ट्रायथोलन च्याम्पियसिपको आयोजनापछि सन् २०१९ देखी एशिया कपको आयोजना हुँदै आएको छ । दुई वर्ष कोरोनाका कारण रोकिएको एशिया कप त्यसपछि निरन्तर वर्षेनी सञ्चालित रहेको उपाध्यक्ष देवकोटाले बताउनुभयो ।

Comments
Loading...