सुरक्षा पालुवाको १८ औं स्थापना दिवस:संस्थाको भवन उद्घाटन

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको कालिकास्थानमा मुख्यालय रही विभिन्न चारवटा सेवाकेन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं स्थापना दिवसको अवसरमा सहकारीको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

सहकारीद्वारा आयोजित एक कार्यक्रमका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । सहकारीले करिब दुई करोड रुपैयाँको लागतमा आफ्नै भवन निर्माण गरेको हो । कार्यक्रममा महानगर प्रमुख आचार्यले सहकारीले सञ्चालन गरेको रक्तदानमा रक्तादातालाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदानको पनि शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा प्रमुख आचार्यले सहकारीका सात सिद्धान्तलाई आत्मसात गर्न सकेमा सहकारी क्षेत्रमा समस्या नआउने बताउँदै केही सहकारीको बदमासीका कारण राम्रो गर्ने सहकारीलाई पनि प्रभावित बनाएको बताउनुुभयो ।

सरकारको तीन खम्बे अर्थनीतिमा सहकारी पनि एउटा महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै उहाँले यसलाई राम्रोसँग नियमन गर्दै अघि बढ्नु जरुरी भएको बताउनुुभयो ।

सरकारले सहकारीको नियमनलाई जोड दिदै आएको उल्लेख गर्दै प्रमुख आचार्यले यसमा सञ्चालक, बचतकर्ता, कर्जा लिनेहरू सबै आ आफ्ना स्थानमा इमान्दार बन्नुपर्ने बताउनुुभयो ।

सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले भरतपोखरीको कालिकास्थानमा मुख्य कार्यालय सहित पोखराका लामगादी, पुडिटार, न्युरोड र भण्डारढिकमा सेवा केन्द्र सञ्चालन गरिरहेको सहकारीका तीन हजार १३० जना शेयर सदस्य रहेको जानकारी दिनुुभयो । सहकारीका सिद्धान्तलाई आत्मसात गर्दै आर्थिक अनुशासन कायम गर्दै सहकारी अघि बढेको उहाँले बताउनुुभयो ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारी बिना समूदायको परिकल्पना गर्न नसकिने बताउनुुभयो । केही सहकारीको समस्याले समस्त सहकारी माथिको विश्वासनीयता माथि प्रश्न उठ्न नहुने उहाँको भनाइ छ ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद अधिकारीले सहकारीको शेयर पूँजी सात करोड ३० लाख रुपैयाँ रहेको र हाल ५६ करोड रुपैयाँ बचत एवम् ५३ करोड रुपैयाँ ऋण लगानी रहेको जानकारी दिनुुभयो । उहाँका अनुसार सहकारीले हाल ७४ करोड रुपैयाँको कारोबार तथा विभिन्न कोषमा छ करोड रुपैयाँ रहेको छ ।

सहकारीका अध्यक्ष टुृल्कनाथ आचार्यको अध्यक्षता एवम् सचिव दीपक बानियाद्वारा सञ्चालित कार्यक्रममा सहसचिव शान्तादेवी अधिकारीले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो । कार्यक्रममा सहकारीका सल्लाहकारहरू खेमराज पौडेल, केशरप्रसाद निर्दोषी, यज्ञप्रसाद अधिकारी, शिवदत्त तिवारी, बचत संघ कास्कीका सदस्य किरण अधिकारी, बागमारा साकोसका अध्यक्ष तुलसीमणि अधिकारी लगायतले बोल्नुभएको थियो ।

Comments
Loading...