पोखरा स्पोर्टस् अवार्डमा प्रकाश सपुतको सांगीतिक प्रस्तुती रहने

हिमाली आवाज । गायक प्रकाश सपुतको प्रस्तुतीमा पोखरेली दर्शक झुम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा समावेश गरिएको सांगीतिक तथा साँस्कृतिक प्रस्तुतीमा मुख्य आर्कषणको रुपमा गायक सपुतले प्रस्तुती राख्नु हुने भएको छ ।

यहीं वैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रममा सपुतले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउनुहुनेछ । उहाँको प्रस्तुतीमा रम्न इच्छुक संगीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर झुम्न सक्नेछन् । कार्यक्रम हेर्नको लागि प्रवेश निःशुल्क रहेको मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश स्तरीय अवार्ड कार्यक्रममा आर्कषणको रुपमा यसपाली बागलुङ जिल्लामा जन्मिएर नेपाली सांगीतिक फाँटमा स्थापित बनेका सपुतलाई स्टेज उतार्न लागिएको हो । विषयवस्तुको गहिराईमा पुगेर त्यसलाई सुन्दर गीत तथा प्रस्तुती मार्फत कथामा उतार्न सक्ने खुबी भएका सपुतको प्रस्तुतीले कार्यक्रममा रौनकता थप्ने मञ्चको विश्वास छ ।

सपुतका अलावा गायक सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने साँस्कृतिक कार्यक्रम उपसमितिका संयोजक मन क्षेत्रीले बताउनुभयो ।  अवार्ड कार्यक्रममा उपस्थित हुन सबैजनालाई आयोजक मञ्च गण्डकीले अनुरोध गरेको छ ।

अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।

मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ ।

Comments
Loading...