कास्कीमा सामुदायिक वनमा आगो लगाउनेलाई कारवाहीका लागि वन कार्यालय पठाइयो

हिमाली आवाज । सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मराम्चे स्थित मराम्चे सामुदायिक वनमा डढेलो लगाउने स्थानीय ३९ वर्षीय अगन्दर पौडेललाई पक्राउ गरी थप कारवाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

सो वनमा शुक्रबार आगो लागेको सूचना प्राप्त हुन साथ वडा प्रहरी कार्यालय बगरको टोली घटनास्थलमा खटिएको थियो । नियन्त्रणमा लिनै नसक्ने अवस्थामा आगो लगाएका व्यक्तिको खोजतलास गर्दा पौैडेलले आगो लगाएको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पौडेलले वन नजिकै रहेको खरबारीमा आगो लगाउँदा अनियन्त्रित भएर फैलिएको थियो । जिल्लामा यस वर्ष वन डढेलोको सङ्ख्या वढेर वन्यजन्तु, वनस्पती, जैविक विविधता र वातावरणनै प्रदुषित भएपछि प्रहरीले वनमा आगो लगाउनेहरुको खोजी सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यस वर्ष विभिन्न स्थानका वन जङ्गलहरुमा एक सय २७ वटा आगजनीका घटना भएका छन् । प्रहरी नायब उपरीक्षक शर्माका अनुसार वनमा आगजनीका अधिकाँस घटना कुनै व्यक्ति विशेषले आपराधिक मनसाय राखी जानीजानी गरेको देखिएको छ ।
नेपालको कानुनमा वन जङ्गलमा आगजनी गर्ने गराउने कार्य गम्भीर आपराधिक कार्य मानी यस्तो कसुर गर्ने व्यक्तिलाई वन ऐन अनुसार तीन वर्षसम्म कैदसम्मको व्यवस्था छ ।

Comments
Loading...