पोखरा स्पोर्टस् अवार्ड:रोहितलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

हिमाली आवाज । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा पराजुलीलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो ।

प्रतिभा छनोट समितिले उहाँको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताउनुभयो । यसअघि उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसक्नुभएको छ ।

पराजुली पोखरा महानगरपालिका– १ लामापाटन मार्गमा बस्नुहुन्छ । उहाँ विसं २०६१ देखि निरन्तर पत्रकारितामा क्रियाशील रहनुभएको छ । सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकबाट विद्यार्थी पत्रकारिता सुरु गर्नुभएका उहाँले जनमत दैनिक, रेडियो वाराही हुँदै २०६६ फागुनदेखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत रहनुभएको छ । पराजुलीले विशेषगरी खोज पत्रकारिता तथा विकृति विसंगतिविरुद्ध कलम चलाउँदै आउनुभएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य पराजुली मञ्चका पूर्व कार्यसमिति सदस्य तथा संसदीय पत्रकार मञ्च गण्डकीका पूर्व सचिव हुनुुहुन्छ । गत वर्षमात्र उहाँलाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट सम्मान गरेको थियो ।

Comments
Loading...