अन्नपूर्ण गाउँपालिकाको लान्द्रुकमा‘हनि हन्टिङ’महोत्सव हुँदै

हिमाली आवाज । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी गाउँको प्रचार प्रसार र प्रवद्र्धन गर्ने उद्धेश्यले कास्कीको अन्नपूर्ण गाउँपालिकामा भीर मौरीको सिकार(हनि हन्टिङ) महोत्सव हुने भएको छ ।

अन्नपूर्ण गाउँपालिका –७ को पर्यटकीय गाउँ लान्द्रुकको मोदी खोलाको किनार कोटेसाङको भीरमा आगामी जेठ ८ गते महोत्सव गर्न लागिएको हो ।

‘हनि हन्टिङ’ लान्द्रुकमा वर्षोअघिदेखी गरिदै आइएको भएपनि पछिल्लो समय यसलाई पर्यटनसँग जोडेर गाउँको प्रवद्र्धनमा प्राथमिकता दिइएको लान्द्रुक हनि हन्टिङ महोत्सव मूल आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले बताउनुभयो ।

उहाँका अनुसार महोत्सवका माध्यमबाट पर्यटन प्रवद्र्धन, स्थानीय कला र संस्कृति संरक्षण, लेकाली महको बजारीकरण हुनेछ । महोत्सवलाई गाउँपालिकाले प्रवद्र्धन गरेको छ ।

महोत्सवमा मह भीरमा गएर मह काढ्ने एवं महको उत्खनन् गरी प्रर्दशन, विविध सांस्कृतिक एवं मनोरञ्चनात्मक कार्यक्रम, भीर मह काढ्ने क्रममा मृत्यु भएकाहरुलाई मरणोपरान्त सम्मान, साहसिक रुपमा भीरमा गएर मह काढ्ने भिरौटेहरुको सम्मान लगायतका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

भीर मौरीको मह जेठ र मङ्सिर महिनामा गरेर वर्षमा दुईपटक निकालिन्छ । तेस्रोपटक महोत्सवनै गरेर भीरका गोलाबाट मह निकाल्न लागिएको हो ।

लान्द्रुकवासीका लागि भीर मौरीको मह काढ़ने सामान्य भए पनि धेरैलाई नौलो विषय हुन सक्ने भएकाले महोत्सवका रुपमा आयोजना गरिएको सोही वडाका वडाध्यक्ष भरतमान गुरुङले बताउनुभयो । गाउँपालिकाले ‘हनि हन्टिङ’ का माध्यमबाट आन्तरिक एवं वाह्य पर्यटन पर्वद्वनलाई समेत प्राथमिकतामा राखेको गुरुङको भनाई छ ।

Comments
Loading...