‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि नर्वेका एन्डर्सलाई

हिमाली आवाज । कास्कीमा सम्पन्न तेस्रो संस्करणको ‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि नर्वेका एन्डर्स लङसेटले जित्नुभएको छ ।हिमालयन एक्सट्राइको आयोजनामा यही वैशाख २९ र ३० गते विश्वकै कठिन मध्येको मानिने सो प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।

प्रतियोगिताको उपाधि विजेता एन्डर्सले निर्धारित एक सय ७५ किमी साइक्लिङ र ४३ किमी लामो पर्यतीय दौड १६ घन्टा २३ मिनेट २६ सेकेण्डमा पूरा गर्नुभयो ।

यसैगरी पुरुषतर्फ काजाकास्तानका रुस्लान एर्जानोभले निर्धारित दूरी पूरा गर्न १६ घन्टा ४७ मिनेट ४४ सेकेण्डको समय लगाउँदै द्धितीय हुनुभयो । काजाकस्तानकै गालिम चाउशेभले निर्धारित दूरी १८ घन्टा ३७ मिनेट पाँच सेकेण्डमा पूरा गरी तृतीय बन्नुभएको इभेन्ट डाइरेक्टर दिवश योन्जनले जानकारी दिनुभयो ।

महिलातर्फ भने एक मात्र किर्गिस्तानकी खेलाडी आनासताशिला बारानोभाले दौड पूरा गर्नुभयो । उहाँले निर्धारित दूरी पार गर्न १८ घन्टा ५६ मिनेट ३१ सेकेण्डको समय लगाउनुभयो ।

एक्सट्रिम ट्रायथलनमा विभिन्न २५ देशका ३६ देशका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिय । प्रतियोगिता अन्तर्गत एक सय ७५ किमी साइकल दौड पोखराको लेकसाइडबाट सुरु भएर सराङकोट–पर्वतको सदरमुकाम कुश्मा–बागलुङ कालिकामन्दिर हुँदै पुनः फर्किएर कास्कीको लुम्ले काँडेमा पुगेर सम्पन्न भएको थियो ।

यसैगरी ४३ किमी दौड काँडेबाट सुरु भएर अस्ट्रेलियन क्याम्प, देउराली, हाई—क्याम्प, लोक्याम्प, मर्दी हिमाल भ्यूपोइन्ट (चार हजार तीन सय मिटर) छोएर सोही बाटो हुँदै फर्किएर माछापुच्छ«े गाउँपालिका–८ को ल्वाङमा पुगेर सम्पन्न भएको थियो ।

प्रतियोगिता अन्तर्गतको फेवातालमा तीन किमी आठ सय मिटर पौडी भन्ने प्रतिकुल मौसमका कारण स्थगन गरेर साइक्लिङ र दौड दुई विधामात्र सञ्चालन गरिएको थियो ।

हिमालयन एक्सट्रिम ट्रायथलनको पोखरामा शनिबार विहान पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रियरुपमा साहशीक  खेलकुदको गन्तव्यका रुपमा विकास गर्न सहयोग पुगेको आयोजकको भनाई छ ।

Comments
Loading...