हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा अवस्थित विश्वमै सुन्दर प्राकृतिक सम्पदा फेवातालमा बढ्दै गएको जलकुम्भी झारका कारण ताल कुरुप बन्न थालेपछि आजदेखी सरसफाई अभियानको सुभारम्भ गरिएको छ ।
वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी’ को नारासहित अभियान सुरु गरिएको हो ।
पोखरा महानगरपालिका–१८ खपौदी ढल्केबरबाट डुङ्गा तथा अन्य साधनको मद्धतमा ताललाई ढाकेको जलकुम्भी झार बाहिर निकाल्न सुरु गरिएको थियो । वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक एवं नागरिक अभियन्ता रामबहादुर पौडेलले अभियान कम्तिमा दुई साता निरन्तर चल्ने बताउनुभयो ।
पौडेलका अनुसार पहिलो दिनमा तालबाट १५ टिप्पर जलकुम्भी हटाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियन्ता र स्थानीयवासी समेत गरेर तीन सयभन्दा बढीको सफाई अभियानमा सहभागिता थियो ।

अभियानको सशस्त्र प्रहरी गण मालेपाटन (कालिका गण) का प्रमुख एवं प्रहरी उपरीक्षक अरुण शर्माले शुभारम्भ गर्नुभएको थियो ।
“विशेषगरी वर्खायाममा जलकुम्भीले ढाक्दा ताल कुरुप हुँदै आएको छ । यसपटक हामीले स्रोतबाटनै जलकुम्भी हटाउने गरी काम थालनी गरेका छौँ ।” पौडेलले भन्नुभयो ।
हरेक वर्ष चैतमा हुने जलकुम्भी हटाउने कार्यक्रम यस पटक विविध कारणले ढिला हुन गएको बताइन्छ । अभियान अन्तर्गत सोमबारदेखि दैनिक ४० जनाका दरले जलारी समुदायले ज्याला सहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णु बहादुर भट्टराईले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिकाको सहयोगमा ‘एक जलारी घर एक रोजगारी’ कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको हो । उनीहरुले दुई हप्तासम्म विहान ८ देखि दिउँसो ३ बजेसम्म तालको सरसफाई गर्नेछन् भने अन्यले समेत स्वयंसेवी रुपमा सहभागिता जनाउन सक्ने बताइन्छ ।