पोखराको लेकसाइडका मसाज सेन्टरमा प्रहरीको छापा, छ बालिकाको उद्धार

हिमाली आवाज । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका स्पा(मसाज) सेन्टरहरुमा आज प्रहरीले छापा मारेको छ ।

सो क्रममा लेकसाइडका पाँच वटा मसाज सेन्टरहरुमा १८ वर्षभन्दा मूनिका छ बालिकाहरुलाई काममा लगाइएको पाइएपछि उनीहरुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

मसाज सेन्टरहरूमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा अनुगमन गरिएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समुह नेपालका तर्फबाट खटिएको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको थियो ।

“मसाज सेन्टरहरूमा कानूनले तोकेको भन्दा कम उमेरका बालिकाहरुलाई काममा लगाइएको पाइएएपछि पीडित बालिकाहरुको उद्धार गरेका छौँ र थप अनुसन्धान भइरहेको  छ। ” प्रनाउ शर्माले भन्नुभयो  ।

प्रहरीले सेन्टर पोइन्ट र न्यू भिजन स्पाबाट दुई÷दुई जना र हिमालयन र पारामाउन्ट स्पाबाट एक÷एक जना बालिकाहरुलाई उद्धार गरेको हो । अनुगमन गरिएको गुडविल स्पामा भने बालिकाहरु नपाइएको बताइन्छ ।

Comments
Loading...