पोखरा राष्ट्रिय साइकल दौड:प्रकाश र उषा च्याम्पियन

हिमाली आवाज । पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जित्नुभएको छ ।

साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकुद विकास समितिले राष्ट्रिय दौड प्रतियोगिता आयोजना गरेको हो ।

पोखरा –१७ र २१ भित्र तय गरिएको रुटमा च्यापिम्पयन बनेका दुबै जनाले जनही रु ५० हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो ।

प्रकाशले निर्धारित २८ किमी दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गर्नुभएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दौड सकेर सुरज रानामगर द्वितीय र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा सकेर हिमाल टमाटा तृतीय हुनुभयो ।

महिलातर्फ हुमी बुढा मगर द्वितीय र इन्द्रकुमारी तामाङ तृतीय हुनुभयो । बुढाले एक घण्टा ४० मिनेट ११ सेकेन्ड र तामाङले एक घण्टा ५९ मिनेट एक सेकेन्डमा २० किलोमिटर दूरी पार गर्नुभयो ।

प्रतियोगितामा द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः रु ३०÷३० हजार र रु २०÷२० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो ।

पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बन्नुभयो । उहाँहरुले जनही रु १०÷१० हजार मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो ।

विजेता र सहभागी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

पोखरा महानगरपालिका वडा नं १७ र कास्की जिल्ला साइक्लिङ सङ्घको सहआयोजना र नेपाल साइक्लिङ सङ्घको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र ‘रन फर फन’ विधामा गरेर एक सय जनाभन्दा बढी खेलाडी सहभागी थिए ।

पोखरा–१७ पावरहाउसबाट सुरू भएको दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खर्सयाङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेर टुङ्गिएको थियो ।

Comments
Loading...