पत्रकार महासंघ कास्कीको अधिवेशन:पत्रकारद्धय विरही र सिग्देल पुरस्कृत,अग्रजलाई सम्मान

हिमाली आवाज । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको शासन हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाको १७ औँ साधारणसभा तथा १२ औँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले लोकतन्त्रमा मात्र सञ्चारक्षेत्रको विकास सम्भव हुने उल्लेख गर्नुभयो ।

संविधान अनुसार स्वतन्त्र प्रेसको मर्मलाई लागि सरकारमा रहेकाहरुले पालना गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वराष्ट्रपति यादवले भन्नुभयो,“देशमा संविधान र कानुन अनुसार काम भएको छैन । सञ्चार क्षेत्रले आफ्नो धर्मअनुसार संविधानको पालनाका लागि अगुवा बन्नुपर्दछ ।”

देशको आर्थिक अवस्थाका कमजोर रहेकाले राजनीतिक दलका शीर्षस्थ नेताहरु बसेर छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । अहिलेको संविधान र शासन व्यवस्था विश्वमानै उत्कृष्ट रहेको उहाँले उल्लेख गर्नुभयो ।

“हामीले जुन व्यवस्था ल्याएका छौँ । यो शासन व्यवस्था  सर्वोत्कृष्ट छ , संसारमा यस्तो छैन । हाम्रो विविधतालाई संविधानमा व्यवस्थित गरेर अघि बढ्नुपर्ने चूनौती छ ।”उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राजनीति र सञ्चार क्षेत्र शंकारहित  हुनुपर्ने बताउनुभयो । उहाँले दुवै क्षेत्र अझै खारिन बाँकी रहेको प्रष्ट पार्दै एकोहोरो रुपमा लाग्दा एक रथका दुई प्राङ्गाको रुपमा रहेका दुवै क्षेत्र शंकाको घेरामा पर्ने तर्क उहाँको छ ।

मुख्यमन्त्री अधिकारीले भन्नुभयो,“हामी कानून र विधिका कुरामा एकतावद्ध भएर जान्छौ, तर, हामीलाई तपाईले सचेत गराउनैपर्छ । सञ्चार क्षेत्र आवाजविहीनहरूको आवाज माथि उठाउन, विना पूर्वाग्रह, विना पक्षधरता व्यावसायिक तरिकाले खरो उत्रनु पर्दछ ।”

साधारणसभाका अवसरमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीलाई ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८०’ बाट पुरस्कृत गरिएको थियो ।

सो पुरस्कारको राशी रु एक लाख ११ हजार एक सय ११ र सम्मानपत्र थियो ।  यसैगरी आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुन हुनुभयो ।

सो पुरस्कारको राशी रु २० हजार तथा सम्मानपत्र थियो । यसैगरी महासंघको संस्थागत विकासमा योगदान गर्ने अग्रज पत्रकारहरु शिरोमणि बराल, विश्वप्रकाश लामिछाने, सुरेन्द्र थापामगर र डा बलराम उपाध्यक्षलाई दीर्घ पत्रकारिता सम्मानबाट सम्मान गरिएको थियो । यसैगरी महासंघको उत्कृष्ट कार्यसमिति सदस्य पुरस्कारबाट सन्तोष बस्याल नगद रु दश हजार सहित सम्मानित हुनुभयो । साधारणसभाले विभिन्न प्रश्तावहरु पारित गरेको अध्यक्ष विमला भण्डारीले जानकारी दिनुभयो ।

Comments
Loading...