गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त,पाण्डेलाई मुख्यमन्त्री नियुक्तिको आदेश

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनुभएको छ । सर्वोच्च अदालतले अधिकारीले पाएको विश्वासको मत असंवैधानिक घोषणा गर्दै अधिकारीलाई पदमुक्त गर्ने आदेश गरेको हो ।

सर्वोच्च अदालतले संविधानको धारा १६८ (३) अनुसार गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्न आदेश गरेको छ। गण्डकीमा संसदको सवैभन्दा ठूलो दलको हैसियतले नेपाली काँग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई अदालतले मुख्यमन्त्री नियुक्त गर्न आदेश गरेको हो । न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार सो आदेश गरेको हो।

सर्वोच्च अदालतले ४८ घण्टाभित्र गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश दिएको हो ।
सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले ६० सदस्यीय प्रदेशसभामा ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको घोषणा गरेपछि उक्त कदम असंवैधानिक भन्दै कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

उक्त रिटमाथि सोमबार न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले सुनुवाइ गर्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएकाले पदमुक्त हुने फैसला सुनाएको हो ।

‘६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि न्यूनतम ३१ सदस्यको आवश्यकता पर्नेमा ३० सदस्यकै समर्थनमा प्रस्ताव बहुमतबाट पास भएको भनी प्रदेशसभाका सभामुखबाट भएको घोषणा नेपालको संविधानको धारा १८८ को उपधारा ३ विपरीत रहेको हुँदा गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले पेश गर्नुभएको विश्वासको मत बहुमतले पास भएको भनी गण्डकी प्रदेशसभाका सभामुखबाट २०८१÷०१÷२३ मा गर्नुभएको घोषणा उत्प्रेषणको आदेशले बदर गरिदिएको छ’, सर्वोच्चले सोमबार सार्वजनिक गरेको फैसलामा भनिएको छ ।

६० सदस्य रहेको गण्डकी प्रदेश सभाको २३ वैशाखमा सम्पन्न बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा ६० मध्ये ३० सदस्यले पक्षमा, २७ ले विपक्षमा र दुई सदस्यले कतै पनि मत जाहेर नगरेको अवस्थामा सभामुख कृष्ण धितालले ३० सदस्यको समर्थनलाई बहुमत मान्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि त्यसविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री पाण्डेले २५ वैशाखमा सर्वाेच्चमा रिट दर्ता गर्नुभएको थिो ।

Comments
Loading...