उन्नति सहकारीको वार्षिकोत्सवमा रक्तदान:६० युनिट रगत संकलन

हिमाली आवाज । पोखराको नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।

सहकारीको १६ औँ वार्षिकोत्सवका अवसर पारेर संस्थाको मुख्य कार्यालय नयाँबजार पोखराको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

सहकारीका अध्यक्ष राजेश रानाभाटले संस्थाका सदस्य सुरेश न्यौपानेलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
सो अवसरमा अध्यक्ष रानाभाटले संस्थाले रक्तदान लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको चर्चा गर्नुभयो ।

संस्थाले आफ्नो वार्षिकोत्सवका अवसरमा वर्षेनी रक्तदान कार्यक्रम गर्दै आएको र यसलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिइने कार्यालय प्रमुख भगवान भट्टराईले जानकारी दिनुभयो । रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो ।

Comments
Loading...