काठमाडौँबाट बेनी जाँदै गरेको बस कास्कीको लेवाडेमा दुर्घटना

हिमाली आवाज । काठमाडौँबाट म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको यात्रु बाहक बस आज विहान कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा दुर्घटना भएको छ ।

बा५ख २८५ नम्बरको रात्री सेवाको सो बस मध्यपहाडी राजमार्ग अन्तर्गत अन्नपूर्णको लेवाडेको घुम्तीमा नालामा पल्टिएर दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  बसमा १३ जना यात्रु सवार थिए ।

घाइतेमध्ये चार जनाको मणिपाल शिक्षण अस्पताल, तीन जनाको गण्डकी मेडिकल कलेज पोखरा र एक जनाको बेनी अस्पताल म्याग्दीमा उपचार भइहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

घाइते हुनेमा बसका चालक  पर्वतको जलजला गाउँपालिका –८ का ३६ वर्षीय बलबहादुर फगामी र यात्रुहरु म्याग्दी मालिकाका ३९ वर्षीय टकबहादुर कामी, २५ वर्षीया रञ्जना हमाल, म्याग्दी दरवाङकी १५ वर्षीया सबिता श्रीपाली, म्याग्दी मंगला गाउँपालिका– १ की ५७ वर्षीया हीरा केसी, ४५ वर्षीय प्रेम पुन,  ५७ वर्षीय तिलक शर्मा र म्याग्दी मालिका  गाउँपालिका–६ का १७ वर्षीय भीमसेन अधिकारी रहनुभएको छ ।

बस दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइहेको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

Comments
Loading...