बारिष्टा तालिमपछि पोखराका महिला पर्यटन व्यवसायी उत्साहित

हिमाली आवाज । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) गण्डकीको आयोजनामा पोखरामा आयोजना भएको दुई साता लामो बारिष्टा तथा बेकरी तालिममा सहभागी महिला उत्साहित भएका छन् । तालिम अत्यन्त उपयोगी भएको भन्दै उनीहरुले सिकेका ज्ञान र सीप व्यवहारमा लागू गरी आत्मनिर्भर बन्ने प्रतिवद्धता जनाए ।

तालिममा सहभागी अन्जना पहारीले आफूलाई व्यवसायमा केही नयाँ गर्न उत्साह मिलेको बताउनुभयो । “हामीलाई कति थरिका कफी बन्छ भन्ने समेत थाहा थिएन । अहिले आफैले थरि थरिका कफी बनाउन सक्ने भएका छौँ ।” पहारीले भन्नुभयो,“मैले लिएको ज्ञान अव घरमा बालबच्चालाई पनि सिकाउँछु ।”

पोखरा जाभा बारिष्टा स्कुलमा भएको तालिमको समापन कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले तालिमले पर्यटकीय राजधानी पोखरामा सेवाको गुणस्तर बस्ने विश्वास प्रकट गर्नुभयो ।

अहिले कफी संस्कृति बढ्दै गएको भन्दै प्रमुख आचार्यले समयको मागलाई ओटेफले बुझेर तालिम गरेको भन्दै आभार प्रकट गर्नुभयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा बार्षिक २० लाख पर्यटक भित्राउन सकिने धारणा राख्दै त्यसका लागि पोखरा महानगरपालिकालाई प्रवद्धनात्मक कार्यक्रम गर्न आग्रह गर्नुभयो ।

ओटेफ गण्डकीका अध्यक्ष उमा भण्डारीले महिलालाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम आयोजना गरिएको बताउनुभयो । तालिमपछि व्यवसाय विस्तारमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।

समापन कार्यक्रममा ओटेफका उपाध्यक्ष एवं पोखरा जावा वारिष्टाका सञ्चालक ममता न्यौपाने र महासचिव लक्ष्मी लामिछाने लगायतले तालिमका विविध पक्षका बारेमा भनाई राख्नुभयो ।

तालिममा २७ जना सहभागि थिए भने तालिममा विद्या न्यौपाने, प्रज्वल पोखरेल, विजय लामा र सुमन तामाङले प्रशिक्षण दिएको उपाध्यक्ष ममता न्यौपानेले जानकारी दिनुभयो ।

Comments
Loading...