एमाले पोखरा महानगर अध्यक्षमा आचार्य विजयी

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पोखरा महानगर कमिटी अध्यक्षमा जीवनप्रसाद आचार्य विजयी हुनुभएको छ ।
यही जेठ १९ गतेदेखी सुरु भएको अधिवेशन अन्तगर्त आज सम्पन्न मतगणनामा आचार्य दुई सय ७७ मत प्राप्त गरी विजयी हुनुभयो ।

उहाँका प्रत्याशी दीपक पौडेलले दुई सय १० मत पाउनुभयो । अध्यक्षमा निर्वाचित आचार्य वर्तमान कमिटीको सचिव हुनुहुन्थ्यो । पौडेल तत्कालीन समयमा नेकपा(एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेकपाको पोखरा महानगर अध्यक्ष बन्नुभएको थियो ।

यसैगरी उपाध्यक्ष पदमा नरेन्द्रनाथ ढुँगाना दुई सय ८४ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रत्यासी मोहन गुरुङले दुई सय तीन मत प्राप्त गर्नुभयो ।

सचिवमा सुशील बस्नेत दुई सय ६७ मत सहित विजयी हुँदा दिनेशबाबु खड्काले दुई सय २० मत ल्याउनुभयो ।यसैगरी उपसचिव खुलामा विष्णुप्रसाद गौतमले तीन सय १० मत सहित विजयी हुँदा उहाँका प्रत्यासी लालबहादुर रानाले एक सय ७७ मत पाउनुभयो ।

उपसचिव महिलामा हरिमाया विश्वकर्माले दुई सय ८० मत ल्याएर विजयी हुँदा उहाँका प्रत्याशी किरण गौतमले दुई सय सात मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले जानकारी दिनुभयो ।एमाले पोखरा महानगरको नयाँ नेतृत्व चयनका लागि आज विहान ८ः०० बजेदेखी मतदात सुरु भएको थियो ।

कूल चार सय ९८ मतदाता रहेकामा निर्वाचनमा चार सय ८८ मत खसेको थियो । मतदानका लागि २४ वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिएको थियो ।

Comments
Loading...