हिमाली आवाज । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
पार्टीको आन्तरिक कार्यक्रमका लागि पोखरा आउनुभएका प्रधानमन्त्री दाहाल हिजो साँझ पर्यटकीय क्षेत्र सराङकोटको होटल अन्नपूर्णमा बस्नुभएको थियो ।
सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उहाँले पर्यटकीय क्षेत्र समेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडक लगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
सराङकोटको खानेपानी समस्या सँधैका लागि समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी योजना अघि बढाउन प्रधानमन्त्री समक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताउनुभयो ।

यसैगरी विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन हबका रुपमा विकास गर्नका लागि पर्यटन पार्क निर्माण, राष्ट्रिय विभूती तथा शहीद पार्कको स्तरोन्नति र पूर्वाधार थप लगायतका माग राखिएको तिमिल्सिनाले बताउनुभयो ।
“प्रधानमन्त्री समक्ष हामीले हाम्रो वडाका समस्याहरु अवगत गराउँदै विभिन्न मागहरु राखेका थियौँ । उहाँले सरकारले स्थानीय जनताका आवश्यकताहरु पूरा गर्ने विश्वास दिलाउनुभएको छ । हामी अत्यन्त उत्साहित भएका छौँ । ” तिमिल्सिनाले भन्नुभयो ।
सराङकोट विशेषगरी दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको गन्तव्य हो । यहाँबाट सूर्योदय र सूर्याष्तको मनमोहन दृश्यावलोकन सहित सुन्दर हिमश्रृङखला र पोखरा बजार हेर्न सकिन्छ ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरासभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि पोखरा मंगलबार साँझ पोखरा आउनुभएको हो ।