रुपातालको किनारै किनार बन्यो पक्की सडक

हिमाली आवाज । कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिकाकोबीचमा अवस्थित रुपातालको किनार हुँदै पक्की कालोपत्र सडक निर्माण भएको छ ।

रूपाताल एकीकृत संरक्षण परियोजनाको रू २३ करोड १० लाख लागतमा रुपागाउँपालिकाको खोलाको छेउदेखि तालबेसीसम्म तालको देव्रे किनारमा साढे सात किमी अस्पाल्ट प्रविधिबाट पक्की सडक निर्माण भइरहेको हो ।सडक निर्माणसँगै स्थानीयवासीलाई सहजता, तालको महत्व बढ्ने र पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरिएको छ ।

पोखराका फेवा र बेगनास तालपछि तेस्रो ठूलो तालका रुपमा रहेको रुपातालमा पहुँच सडकको अभावमा पर्यटकीय गतिविधि कम भएको अवस्थामा सुविधा सम्पन्न पक्की सडकपछि तालको महत्व अझ वढ्ने रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले पक्की सडकले तालको मुहारनै फेरिएको बताउँदै खुशी व्यक्त गर्नुभयो ।“विसं २०५९ मा हामी आँफैले ट्रयाक खोलेको बाटो बनाउन सुरु गरेका हौँ । अहिले पूरै तालको एक छेउबाट अर्को छेउसम्म पुग्ने गरी पक्की सडक बन्दा हामी असाध्यै खुशी भएका छौँ । पर्यटकीय गतिविधिसँगै स्थानीयलाई समेत बाटोले फाइदा हुनेछ ।”

अधिकारीका अनुसार सडक निर्माणले रुपातालमा माछा खरिद तथा विक्रीका लागि समेत सजिलो हुनेछ । रुपा गाउँपालिकाका भंगरा, जमनकुना तथा तालबेसीका स्थानीयले सडकको प्रत्यक्ष फाइदा हुनेछ ।

यसैगरी बेगनासताल हुँदै सुन्दरीडाँडा, तालबेसी हुँदै लमजुङको भोर्लेटार जाने हालको सडक साँघुरो र जीर्ण भएको अवस्थामा रुपा तालको किनार हुँदै बनेको यस सडक वैकिल्पक सडकका रुपमा प्रयोगमा आइसकेको अधिकारीले बताउनुभयो ।

रुपाताल एकीकृत संरक्षण परियोजनाका इन्जिनियर नरजङ्ग गुरुङले सडक निर्माणको हालसम्म ८० प्रतिशत काम सकिएको बताउनुभयो । उहाँका अनुसार चालू आर्थिकवर्षभित्रमा पूरा काम हुनेछ ।

सडक निर्माणका लागि विसं २०७८ असार २३ गते डुकुचु कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरिएको थियो । सडक नाला बाहेक साढे पाँच मिटर फराकिलो छ । सम्झौताको मितिले ३० महिनाभित्रमा सम्पन्न गरिसक्नुपर्ने भएपनि बजेट अभावमा काममा ढिलाई भएको बताइन्छ ।
“गत चैत महिनाभित्रमा कालोपत्रे गर्ने तयारी थियो तर बजेट अभावमा सडक समयमै सम्पन्न गर्न केही ढिलाई भयो । अहिले यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी लागिपरेका छौँ ।”इन्जिनियर गुरुङले भन्नुभयो ।

रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविकको लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भाग तालले छोएको छ । ताल पर्यटकीय गन्तव्यसँगै यस आसपासका सर्वसाधारणको समृद्धिको महत्वपूर्ण आधार बन्ने स्थानीयको भनाई छ ।

परियोजना इन्जिनियर सुनिता गैह्ेले रुपाताललाई पुरानै स्वरुपमा फर्काउन करिव रु करिब रु चार अर्ब ५० करोडमा लागतमा विभिन्न संरचनाहरु निर्माण भइरहेको बताउनुभयो ।

उहाँका अनुसार पहुँचमार्ग सहित जलाधार क्षेत्रमा तीनवटा सिल्ट्रेसन ड्याम निर्माण गरिएको छ । लक्षित योजनाअनुसार काम सम्पन्न भई बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने बताइन्छ ।

Comments
Loading...