गण्डकी प्रदेशस्तरीय फुटबल : कास्की, म्याग्दी, बाग्लुङ र तनहुँ सेमिफाइनलमा

हिमाली आवाज । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकी र गण्डकी प्रदेश फुटबल सङ्घको आयोजनमा भइरहेको प्रतियोगिताको शनिबार दोस्रो दिनका खेलपछि सेमिफाइनल खेल्ने टोली निश्चित भएको हो ।सेमिफाइनलको पहिलो खेलमा म्याग्दीले कास्कीको सामना गर्नेछ भने बागलुङ र तनहुँबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

शनिबार सम्पन्न भएका क्वाटरफाइनलका खेलमा म्याग्दीले स्याङ्जामाथि टाइव्रेकरमा ४–३ जित निकाल्न सफल भयो । निर्धारित समयमा दुबै टिमले २–२ गोलले बराबरीपछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । स्याङजाका क्षितिज जिटी र राजेन्द्र श्रेष्ठको प्रहार बाहिरिएपछि म्याग्दीको जित सहज बनेको थियो । यता म्याग्दीका रिजन पुनको समेत प्रहार बाहिरिएको थियो ।

निर्धारित समयमा बलियो मानिएको स्याङजालाई म्याग्दीले आक्रामक खेल खेल्दै ३२ मिनेटमा सुमन पुनले अग्रता दिलाए भने ठिक तीन मिनेट पछि मनिष श्रेष्ठले टिमका लागि अर्को गोल थपे । तर हाफटाइम पछि स्याङजा खेलमा फर्कियो । स्याङजाका लागि सोम गुरुङ र अनिश गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

यता कास्कीले आफ्नो होम ग्राउण्डको फाइदा उठाउँदै नवलपुर विरुद्धको खेल ४–० ले जितेको छ । खेलको ३३ औं मिनेटमा विक्रम गौतमले नवलपुर विरुद्ध गोल गर्दै कास्कीलाई अग्रता दिएका थिए । अभिषेक थापाले खेलको दोस्रो हाफमा व्यक्तिगत दुई गोल गरे । उनले ४५ औं र ४८ औं मिनेटमा गोल गरे भने ५४ औं मिनेटमा कास्कीका लागि चौथो गोल किशन गुरुङले गरे ।

आयूष खड्काको ह्याट्रिकमा पर्वत विरुद्ध बागलुङले ४–० सहज जित निकालेको छ । आयूषले खेलको ४२, ४९ र ७८ औं मिनेटमा गोल गरे । त्यस्तै निश्चल महतले ७१ औं मिनेटमा चौथो गोल थपे पछि बागलुङले सहज निकालेको हो ।यसैगरी अन्तिम क्वाटरफाइनलमा तनहुँले लमजुङ विरुद्धको खेल ५–० ले जितेको छ । गोरखा विरुद्ध पहिलो खेल जितेको तनहुँले क्वाटरफाइनलमा लमजुङलाई पराजित गरेको हो । तनहुँका सन्त बहादुर गुरुङले ह्याट्रिक पुरा मात्रै गरेनन् उनले ४ गोल गरे । सन्तले १८, ५६, ६५ र ७८ मिनेटमा गोल गरे भने सौगात गुरुङले खेलको ३३ औं मिनेटमा एक गोल गरेका थिए ।

आइतबार सेमीफाइनलका खेलहरु सञ्चालन हुने संघका महासचिव बिनोद गुरुङले जानकारी दिनुभयो ।प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु दुई लाख र उपविजेता हुने टिमले नगद रु एक लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता यही जेठ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्ला मध्येमा मुस्ताङ बाहेक १० जिल्लाको सहभागिता रहेको छ ।

Comments
Loading...