गण्डकी प्रदेशस्तरीय फुटबल:कास्की र तनहुँ फाइनलमा

हिमाली आवाज । कास्की र तनहुँ पोखरा रङ्गशालामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
पोखरा रगशालामा आइतबार सम्पन्न पहिलो सेमीफाइनलको खेलमा तनहुँले बागलुङलाई २–१ गोलले पराजित गरी प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा बागलुङका राजीव श्रीषले खेलको ११ औं मिनेटमा गोल गर्दै अग्रता बनाए । खेलमा पछि परेको तनहुँले २२ औं मिनेटमा सान्त बहादुर गुरुङको गोल मार्फत खेलमा फर्कियो ।

खेलको ३५ औं मिनेटमा दिपेश आलेले तनहुँका लागि अर्को गोल गरे । खेलमा दुबै पक्षबाट थप गोल भएन र तनहुँ फाइनलमा पुग्न सफल भयो । खेलमा तनहुँका लक्ष्मण थापा ‘म्यान अफ दी म्याच’ घोषित भए ।

यसैगरी कास्कीले म्याग्दीलाई ४–१ ले पराजित गरी उपाधि नजिक पुगेको हो । कास्कीका लागि किशोर गुरुङ र राज कुमार कुंवरले समान २–२ गोल गरे । किशोरले ४१ र ५९ औं टिमका लागि गोल गरे भने राज कुमारले ४४ र ४७ औं मिनेटमा गोल गरेका थिए । सो खेलमा कास्कीका राजकुमार ‘म्यान अफ दी म्याच’ प्राप्त गर्न सफल रहे ।

प्रतियोगिताको फाइनल खेल सोमबार दिउसो १ बजे सञ्चालन हुने गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिनुभयो ।प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु दुई लाख र उपविजेता हुने टिमले नगद रु एक लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट हुनेछन् ।

प्रदेश खेलकुद परिषद् गण्डकी र गण्डकी प्रदेश फुटबल सङ्घको संयुक्त आयोजनामा यही जेठ २५ गतेदेखी प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्ला मध्येमा मुस्ताङ बाहेक १० जिल्लाले प्रतिस्पर्धा गरेका थिए ।

Comments
Loading...