सार्दिखोलामा पाठेघरको मुखको क्यान्सर परिक्षण,दुई सय ६५ ले लिए सेवा

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २ स्थित सार्दिखोला स्वास्थ्य चौकीमा आज महिलाहरुको पाठेघरको मुखको क्यान्सरको निःशुल्क परिक्षण गरिएको छ ।

सो स्वास्थ्य शिविरमा ३० देखी ५० वर्ष उमेरका महिलाहरुको आरटि पिसिआर विधिबाट परिक्षण गरिएकामा दुई सय ६५ जनाले सेवा लिएका छन् ।

माछापुच्छ्ेर गाउँपालिका वडा नं २ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले पालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै महिलाको पाठेघरको क्यान्सर विरुद्ध सचेतनाका लागि कार्यक्रम गरिएको बताउनुभयो ।

वडाध्यक्ष आचार्यले भन्नुभयो,“महिलाहरुलाई हुने पाठेघरको मुखको क्यान्सर अहिले बढ्दो मात्रामा छ । धेरै बिरामीमा चेतनाको कमीसँगै स्वास्थ्यलाई उच्च प्राथमिकतामा नराख्दा अन्तिम अवस्थामा मात्र रोग पत्ता लाग्ने र अल्पायुमा ज्यान जाने अवस्था हुन्छ । त्यसैले क्यान्सर रोग रोकथामका परिक्षण शिविर आयोजना गरेका हौँ।यसबाट वडाका धेरै महिला दिदीबहिनीहरु लाभान्वित हुनुभयो ।”

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले माछापुच्छ््रे गाउँपालिकाका लागि एक हजार ५ सय परिक्षण किट सहयोग गरेको थियो । परिक्षण शिविरलाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्राविधिक सहयोग उपलव्ध गराइएको थियो । माछापुच्छ्रे गाउँपालिकाका अन्य वडाहरुमा समेत परिक्षण कार्यक्रम रहेको बताइन्छ ।

ललितपुर महानगरपालिका स्वास्थ्य महाशाखामा कार्यरत लाहाचोक निवासी दाताराम अधिकारीले सो सहयोग उपलव्ध गराउनुभएको थियो ।स्वास्थ्य चौकीका प्रमुख अनिता घिमिरेले परिक्षण शिविर धेरै उपयोगी भएको बताउनुभयो । उहाँले स्वास्थ्य चौकीले स्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिनुभयो ।

यसअघि गत जेठ १८ गते परिक्षण शिविर सम्बन्धमा अभिूमुखीकरण कार्यक्रम गरिएको थियो ।सो कार्यक्रममा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ,गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष गणेश आचार्य,गाउँपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराम दाहाल,क्यान्सर रोग विशेषज्ञ डा सरिता घिमिरे, तथ्यांक अधिकृत पुष्पराज जैसी,सहयोगी दाताराम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Comments
Loading...