हरिप्रसाद पराजुली, हिमाली आवाज । पोखरामा पशुपन्क्षीको उपचारका लागि मोडेल(नमूना) भेटेरिनरी अस्पताल सञ्चालनमा आएको छ ।
पोखरा महानगरपालिका –१२ मा नवर्निमित अस्पतालको सुविधासम्पन्न भवनबाट बुधबारदेखी सेवा दिन सुरुआत गरिएको हो । अस्पताल भवनको जेठ पहिलो साता तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको थियो । भवन उद्घाटन भएपनि सेवा प्रवाह भएको थिएन । हिजोदेखी औपचारिक रुपमा सेवा सुरु गरिएको हो ।
गण्डकी प्रदेश सरकारको लगानीमा कास्की तथा यस आसपासका जिल्लाहरुबाट पशु उपचार तथा कृषकलाई सहज भेटेरिनरी सेवा उपलव्ध गराउने उद्देश्यले अस्पताल भवन निर्माण गरिएको थियो । कास्की सहित तनहुँमा समेत अस्पताल निर्माण भइरहेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले नवर्निमित अस्पताल भवनबाट कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरी सेवा प्रवाह सुरुआत गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा ६३ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो । पशुपन्क्षी रोग अन्वेशण प्रयोगशालाका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा किरण पाण्डे,भेटेरिनरी अस्पतालका चिकित्सक डा अनन्त कोइराला,डा आशिष गौतम,पोखरा महानगर पशु सेवा शाखाका प्रमुख डा आरोश विक,डा पवन पाण्डे,डा प्रियंका कोइराला लगायत, नारायण ढकाल लगायतको टोलीले शिविरमा उपचार सेवा दिएको थियो ।
“सुविधासम्पन्न पशुपन्क्षी अस्पतालबाट सेवा प्रवाह गर्ने हामीहरुको लामो समयदेखीको चाहना थियो, अहिले आएर पूरा भएको छ । कास्की सहित यस क्षेत्रका पशुपालक कृषकहरु लाभान्वित हुनुहुनेछ, उहाँहरुले सहज सेवा पाउनुहुनेछ । ” कार्यालय प्रमुख पाण्डेले भन्नुभयो ।
प्रदेश सरकारको रु छ करोड ४४ लाख २० हजार सात सय ७२ लगानीमा बनेको अस्पताल भवन निर्माण गरिएको हो । सुविधासम्पन्न साढे दुई तलाको अस्पताल सो भवन निर्माणका लागि सिद्धबाबा÷फुल्जोर जेभि स्याङ्जासँग ठेक्का सम्झौता गरिएको थियो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका चिकित्सक डा अनन्त कोइरालाले सुविधासम्पन्न अस्पताल भवनबाट अन्तरंग, बहिरंगसहितका सेवा प्रदान गरिने जानकारी दिनुभयो । अस्पतालमा प्रयोगशाला, अपरेशन कक्ष, फार्मेसी, रेडियोलोजिकल ल्याब लगायतका सुविधा रहने उहाँले बताउनुभयो । यसैगरी पशुपन्क्षी, माछा, घरपालुवा जनावरको उपचारका लागि समेत छुट्टाछुटटै कक्ष राखिने छ ।