हिमाली आवाज । पोखरा महानगरपालिका–१८ मा रहेको लभ्ली डाँडा अधिकाँस पोखरेलीको परिचित ठाउँ हो । विशेषगरी विहानी र बेलुकी हिँड्नेहरुको लागि रोजाईमा यो ठाउँ पर्ने गरेको छ ।
व्यस्त दैनिकीका बीच थोरै समय हुनेहरु स्वास्थ्यका लागि लभ्ली डाँडा चढ्छन् । पोखरा बजार हेर्दै शारीरिक अभ्यास र मनोरञ्जन लिन्छन् । यही अभ्यास गर्नेहरुको भीडले थुपारेको फोहोरको दृश्यले भने पोखराको एक नीजि विद्यालयका विद्यार्थीको मन दुख्यो ।
पोखरा–४ मा अवस्थित सगरमाथा निकेतन स्कुलका विद्यार्थी शनिबार विहान लभ्ली डाँडा पुगे र हातमा पञ्जा लगाएर यत्रतत्र छरिएको फोहर टिप्न थाले । विद्यालयमा गठन गरिएको स्काउट दलका विद्यार्थी र शिक्षक सहित २५ जनाको टोलीले लभ्ली डाँडाको सरसफार्इं गरेको हो ।

विद्यार्थीहरुले सो क्षेत्रबाट कुहिने तथा नकुहिने गरी १५ बोरा फोहर संकलन गरी नष्ट गरेको विद्यालयका प्राचार्य दिलिप शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार वातावरणप्रतिको सचेतना अभिवृद्धिका लागि कार्यक्रम गरिएको हो ।
“विद्यार्थीलाई बाहिरी ज्ञान सँगै वातावरणप्रति सचेतना अभिवृद्धि गर्न विद्यार्थी, शिक्षक तथा कर्मचारी भएर सरसफाई कार्यक्रम गरेका हौँ । यसले जथाभावी फोहोर गर्नु हुँदैन भन्ने सन्देश समेत दिएको छ । ” प्राचार्य शर्माले भन्नुभयो ।
विद्यार्थीले लभ्ली डाँडाको फोहोर संकलन गरेपछि त्यहाँ अहिले सफा देखिएको छ । विद्यार्थीले जथाभावी फालिएका प्लाष्टिक, बोत्तल तथा अन्य फोहोर संकलन गरेका हुन् । डाँडाको फोहर उठेपछि सो ठाउँमा पुग्नेहरु समेत अहिले हर्षित भएका छन् ।